विशेषज्ञ चिकित्सकहरूको टोलीले बालबालिका, महिला र वृद्धवृद्धालाई लक्षित गर्दै शिविरमा पहिचान भएका स्वास्थ्य समस्या निदान गरिरहेको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र हुम्लाको नाम्खा गाउँपालिकाको साझेदारीमा आयोजित स्वास्थ्य शिविरमा पहिलो दिनमै पाँच सय ६ जनाले सेवा लिएका छन्।
विकट हिमाली जिल्लामा सेवा दिनु प्रतिष्ठानको उल्लेख्य उपलब्धि ठानिएको छ। विशेषज्ञ चिकित्सकहरूको टोलीले बालबालिका, महिला र वृद्धवृद्धालाई लक्षित गर्दै शिविरमा पहिचान भएका स्वास्थ्य समस्या निदान गरिरहेको छ।
बालबालिकामा कान र निमोनियाको समस्या
बालरोग विशेषज्ञ डा. उत्तरा गौतमका अनुसार, बच्चाहरूमा कान पाक्ने समस्या धेरै भेटिएको छ। दुर्गम र भौगोलिक रूपमा विकट क्षेत्रमा कानमा संक्रमण र कान पाक्ने समस्या देखिएको उनले बताइन्।
“पोषण सम्बन्धी समस्या भने खासै भेटिएको छैन। तर निमोनिया र रुघाखोकीको सामान्य लक्षणका बिरामी भने देखा परे,” उनले भनिन्।
महिलामा महिनावारी र प्रजनन स्वास्थ्यसम्बन्धी समस्या
शिविरमा स्वास्थ्य परीक्षण गराएका महिलाहरूमा प्रजनन् स्वास्थ्यसम्बन्धी समस्या धेरै देखिएको छ।
स्त्रीरोग विशेषज्ञ डा. विनिता सुवेदीका अनुसार, महिलामा फोहर पानी बग्ने, महिनावारी गडबडीजस्ता समस्या अधिक भेटिएका छन्।
दुर्गम क्षेत्रको कठिन जीवनशैली र पर्याप्त स्वास्थ्य सेवाको पहुँच नहुँदा यस्तो समस्या देखिएको उनको भनाई छ।
उनले भनिन्, “विशेषगरी महिलामा उचित सरसफाइको अभाव र स्वास्थ्य शिक्षा कमीका कारण प्रजनन स्वास्थ्यमा असर परेको छ।”
छालासम्बन्धी समस्या: परामर्शविना औषधि प्रयोगले समस्या जटिल
छाला रोग विशेषज्ञ डा. हरिहर अधिकारीका अनुसार, स्थानीय बासिन्दाहरूमा छालासम्बन्धी समस्याहरू सामान्य भन्दा बढी भेटिएका छन्। छालामा सुक्खापन र चिलाउने समस्या सबैभन्दा बढी देखिएको छ।
उनले भने, “यहाँका मानिसहरूले छालाको समस्या भएका बेला औषधि परामर्शविना नै प्रयोग गर्ने प्रवृत्ति देखियो, जसले गर्दा समस्या झन् जटिल भएको पाइयो।”
दुर्गम क्षेत्रको कठोर मौसम, प्रतिकूल जीवनशैली र स्वास्थ्य सेवाको पहुँच नहुँदा यहाँ छालासम्बन्धी समस्या देखिनु स्वाभाविक भए पनि, चिकित्सकीय परामर्शको अभावले समस्या अझै बढेको उनको विश्लेषण छ।
स्थानीय स्वास्थ्य अवस्थाको प्रतिबिम्ब
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलका अनुसार, शिविरमा अपेक्षा गरेभन्दा धेरै जटिल स्वास्थ्य समस्याका बिरामी आएका छन्।
“आम रूपमा दुर्गम क्षेत्रमा गरिने शिविरहरूमा सामान्य स्वास्थ्य समस्याका बिरामी आउने गर्दछन्। तर यहाँ जटिल प्रकृतिका स्वास्थ्य समस्यासहितका बिरामी धेरै आएका छन्, जसले यस क्षेत्रको स्वास्थ्य अवस्थाको गम्भीर तस्वीर देखाउँछ,” उनले भने।
यो स्वास्थ्य शिविरले स्थानीय बासिन्दाहरूको स्वास्थ्य अवस्थाबारे गहिरो जानकारी प्राप्त गर्न सहयोग पुगेको र आगामी दिनमा नाम्खा क्षेत्रको स्वास्थ्य सेवामा सुधारका लागि मार्गनिर्देश दिने विश्वास गरिएको उनको भनाइ छ।
स्वास्थ्य सेवामा सुधारको आशा
नाम्खा गाउँपालिकाका प्रमुख र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरूको संयुक्त प्रयासमा आयोजित यो स्वास्थ्य शिविरले स्थानीय जनताको स्वास्थ्य सुधारमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
शिविरमा आएका सबै बिरामीलाई निःशुल्क औषधि वितरण गरिएको छ भने आपतकालीन अवस्थाका बिरामीलाई थप उपचारका लागि जिल्ला सदरमुकामसम्म लैजान सिफारिस गरिएको छ।
नाम्खा गाउँपालिका -१ याक्पाकी ७३ वर्षीया टसी याङ्जोम लामाले यस्तो शिविरलाई सधैं आयोजना गर्न अनुरोध गर्दै भोटो लवजमा भनिन्, “हरेक साल यस्तै शिविर गरे त हाम्रो लागि साह्रै धर्म हुने छियो। हामी साह्रै गुन मान्नेछ।”
दुर्गम क्षेत्रमा रहेका नागरिकका लागि यस्ता स्वास्थ्य शिविर जीवनरक्षक साबित हुने नाम्खा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्द कृष्ण पाध्याले बताए।
“यहाँका जनातालाई आवश्यक परेमा चिकित्सकको साथ, स्वास्थ्य सामग्री र परामर्श यहाँबाटै पाउन सकियोस् भन्ने चाहन्छौं,” पाध्याले भने।
शिविरले दुर्गम हुम्लामा स्वास्थ्य सेवा पहुँचको सन्देश दिनुका साथै, स्थानीय जनताको स्वास्थ्यमा सुधार ल्याउने अपेक्षासहित सम्पन्न हुने आशा गरिएको छ।