सोमबार, ८ पुष, २०८१

जुम्लाको चन्दननाथ, भैरवनाथ मन्दिरमा नयाँ लिंङ्गा, दशै सुरु

चन्दननाथ मन्दिरमा ५२ हाते लिंगा र ५२ हाते ध्वजा राखिएको हुन्छ भने भैरवनाथ मन्दिरको लिंगामा ४८ हातको लिंगा र ४८ हातकै ध्वजा राखिएको छ।

जुम्लाको प्रसिद्ध चन्दननाथ, भैरवनाथकाे मन्दिरमा नयाँ लिंगा खडा गरिएको छ। हरेक वर्ष घटस्थापनाका दिन नयाँ लिंगा फेर्ने चलनअनुसार बिहीबार चन्दननाथ भैरवनाथ मन्दिरका लिंगा फेरिएको हो।

असोज १४ गते चन्दननाथ-३ ढाँड थपालाको जंगलबाट नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र, प्रहरी तथा सयौँ भक्तजनकाे संयुक्त बलमा लिंगा ल्याइएकाे थियाे भने बिहिबार पुराना लिंगा प्रतिस्थापन गरेर नयाँ लिंगा खडा गरिएको चन्दननाथ, भैरवनाथ गुठी व्यवस्थापन समितिले जनाएको छ।

चन्दननाथ मन्दिरमा ५२ हाते लिंगा र ५२ हाते ध्वजा राखिएको हुन्छ भने भैरवनाथ मन्दिरको लिंगामा ४८ हातको लिंगा र ४८ हातकै ध्वजा राखिएको छ। साथै दुबै मन्दिरमा करिब ४२ हाते सहायक लिंगा खडा गरिएको चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिका अमर थापाले बताए।

‘चन्दननाथ भैरवनाथ मन्दिरमा नयाँ लिंगा फेरिसकेपछि मात्र जुम्लाका घरघरमा घटस्थापना गर्ने चलन छ,’ उनले भने, ‘मन्दिरकै माटो लिएर जमरा राख्ने चलन छ। मन्दिरमा जय स्तम्भसहित पाँचवटा लिंगा खडा गरिएको हो।’

चन्दननाथ भैरवनाथ मन्दिरका नयाँ लिंगा फेरिएसँगै जुम्लामा विधिवत रुपमा दसैँ सुरु भएको मानिन्छ। पछिल्लो समय भक्तजनहरुको संख्या भने घटेपनि युवाहरुकाे पहलमा लिंगा ल्याउने काम भएकाे अध्यक्ष थापाले बताए।

घटस्थापनाकै दिन उत्पादन वृद्धि होस्, भोकमरी नहाेस् भन्ने कामनासहित चन्दननाथ भैरवनाथ मन्दिरमा मार्सीधानको सिक चडाउने समेत परम्परा रहेको संस्कृति सम्बन्धका जानकार रमानन्द आर्चायले बताए।

‘बाबा चन्दननाथले आफ्नै बलबुतामा मार्सीधानको बीउ पत्ता लगाएर विस्तारकाे लागि आफ्ना बलशाली शिष्य लछालकृति पैकेलाेलाई खठाएका थिए,’ उनले भने, ‘मार्सी धानकाे प्रयाेग सफल भएपछि बाबा चन्दननाथकाे सम्मानस्वरुप लिंगा खडा गर्ने रित बसालिएकाे हाे।’

उनका अनुसार लछालकृति पैकेलाले तातोपानी-२ मा पर्ने गुरु फोक्टो नामक खेतमा पहिलो टपकट मार्सी खेती सुरु गरेका थिए। त्यस सफल भएपछि जस चन्दननाथ बाबालाई गयाे। जसका कारण जुम्ली किसानले आफू खानुभन्दा पहिले मार्सी चामलको सिक चन्दननाथ मन्दिरमा चढाउने परम्परा बसेकाे हाे।

मन्दिरमा सिक दिने परम्पराले बीउ जाेगाउने काम पनि गरेकाे इतिहास र संस्कृतिका जानकार सिंजा कनकासुन्दरीका तुङ्गनाथ उपाध्यायले बताए।

‘सिक भनेर ल्याएकाे धान असल हुन्थ्याे। एक ठाउँकाे बीउ अर्काे ठाउँमा साटफेर हुन्थ्याे,’ उनले भने, ‘नयाँ माटाेमा नयाँ बीउ परेपछि उत्पादन घट्दैन थियाे। पछिल्लो समय सिक दिने चलन घटेपछि ठाउँठाउँमा धान बाली बिग्रँदै गएकाे छ।’

जुम्लामा बडीमालिका जानेदेखि घटस्थापनामा मन्दिरका लिंगा फेर्ने अनुपम संस्कृति रहेकाे उनकाे भनाइ छ।

‘धार्मिक तथा प्राकृतिक पर्यटकीय सम्भावनाले भरिपूर्ण जुम्लाको विकासमा राज्यले लगानी बढाउनुपर्ने देखिन्छ,’ उनले थपे, ‘जुम्लाका विभिन्न संस्कृति र परम्पराले देवभूमि पुगेको महशुस गराइरहेकाे हुन्छ।’

घटस्थापनाकाे लिंगा खडा गर्ने ठाउँमा पुग्दा आफूले चिताएको पूरा हुने भन्दै मन्दिरमा हजाराैँ भक्तजनहरु भिड हुन्छ।

घटस्थापनाकै दिन जुम्लाका घरघरमा जाैका जमरा राख्ने चलन छ भने साँझ नयाँ फलेकाे मार्सी धानकाे चिउरा कुटेर दही, महसँग मिसेर न्वागी बनाई घर परिवार तथा बिहे गरेकी छाेरीचेलीलाई बाेलाएर खुवाउने चलन छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार