जंगलबाट ल्याउने तीनवटै लिङ्गाको फरकफरक नामाकरण गरिएको पाइन्छ।
जुम्लाको चन्दननाथ भैरवनाथ मन्दिरमा खडा गरिने लिङ्गा तान्ने काम सकिएको छ। सोमबार बाजागाजा सहित, हर्ष बढाई गरेर लिङ्गा तान्ने काम सम्पन्न भएको हो।
हरेक वर्ष असोज कृष्ण त्रायदशीका दिन लिङ्गा तान्ने रित परापुर्वकालदेखि नै चलिआएको स्थानीय चित्रलाल श्रेष्ठले बताए।
‘प्रत्येक वर्ष तीनवटा नयाँ र एउटा पुरानाे लिंगोलाई रंगराेगन गरेर घटस्थापनाको दिन लिङ्गा खडा गर्ने गरिएको छ’ उनले भने, ‘यसरी जंगलबाट ल्याउने तीनवटै लिङ्गाको फरकफरक नामाकरण गरिएको पाइन्छ।’
सबैभन्दा ठुलाे ५२ हाते लिंगाे ल्याउन जंगलमा सरकारी कर्मचारी र असीदराका २७ गाउँका क्षेत्रीसमेत जानुपर्ने भएकाले त्यसलाई पल्टनियाँ लिंगाे भन्ने गरिएको संस्कृति सम्बन्धका जानकार रमानन्द आचार्यले बताए।
उनका अनुसार पछिल्लो समय उक्त लिङ्गो सेना, प्रहरीले लगायतको फौजले ल्याउने गरेका छन्।
‘अर्काे लिंङोलाई थपाले लिंगाे भनिन्छ। उक्त लिंगाे थपालालगायतका बाहुनहरुले ल्याउने हुनाले त्यसलाई बाहुने लिंगाे पनि भन्ने गरिएको छ,’ आचार्यले थपे।
तेस्राे लिंगाेलाई कमसले लिंगो भनिन्छ। उक्त लिङ्गोलाई दलित समुदायले ल्याउनुपर्ने रित चलाइएको थियो।
‘त्यसबेलाकाे समाजले सार्की, कामी, दमाईलगायत थरका मान्छेलाई कमसल वस्तुसरह मान्ने भएकाले उक्त तेस्राे लिंगाेकाे नाम कमसले लिंगो राखिए हुनुपर्छ,’ वरिष्ठ पत्रकार भिम कसिङ्गरले भने।
तर पछिल्लो समय स्थानीय युवाहरु सहित सेना, प्रहरी, सशस्त्र प्रहरी लगायत सबै मिलेर लिङ्गा ल्याउने गरिरहेका छन्।