रोकायाले जुम्ला बजारको मध्य भागमा अवस्थित ३५ लाख बराबरको १३० वर्ग मिटर क्षेत्रफलको जमिन दान गरेका छन्।
खेलाडी बस्ने होस्टेल निर्माणका लागि जग्गा दान गरेका अन्तर्राष्ट्रिय धावक हरि रोकायालाई सम्मान गरिएको छ। शुक्रबार नेपाल पत्रकार महासंघको हलमा आयोजित एक विशेष समारोहमा कर्णाली स्पोर्ट्स क्लबले सम्मान गरेको हो।
जुम्ला र समग्र राष्ट्रको खेलकुदका लागि हरी रोकायाले गरेको ऐतिहासिक योगदानलाई उच्च सम्मान गर्दै सम्मान गरिएको क्लबका अध्यक्ष सरोज शाहीले बताए। उनका अनुसार रोकायाले जुम्ला बजारको मध्य भागमा अवस्थित ३५ लाख बराबरको १३० वर्ग मिटर क्षेत्रफलको जमिन दान गरेका छन्।
“झण्डै ३५ लाख रुपैयाँ मूल्य बराबरको यो योगदानले जुम्लाको खेलकुद क्षेत्रको भविष्यलाई सकारात्मक रूपान्तरण गर्ने विश्वास गरेका छौं,” उनले भने, “यो जमिन कर्णाली क्षेत्रमै पहिलो आधुनिक उच्च प्रशिक्षण केन्द्र निर्माणका लागि उपयोग गरिनेछ।”
जुम्लाका खेलाडीहरूलाई उच्चस्तरीय प्रशिक्षण र आवासीय सुविधाको अभावका कारण हुने कठिनाइ समाधान गर्दै, यो परियोजनाले खेलकुदको क्षेत्रमा ठुलो फड्को मार्ने अपेक्षा गरिएको नागरिक समाजका अध्यक्ष राज बहादुर महतले बताए।
“उहाँको यो योगदानले हाम्रो क्षेत्रका खेलकुद प्रतिभाहरूको उज्यालो भविष्यको मार्गप्रशस्त गरेको छ,” उनले भने, “यो मात्र जमिनको दान होइन। यो जुम्लाको खेलकुद क्षेत्रप्रतिको उहाँको अविचलित प्रेम र समर्पणको उदाहरण हो।”
क्लबका अध्यक्ष शाहीका अनुसार उक्त जमिनमा चार तले आधुनिक भवन निर्माण गर्ने योजना तयार भइसकेको छ। इन्जिनियर नविन शाही र उत्तम रोकायाको नेतृत्वमा तयार गरिएको नक्साअनुसार पहिलो तलामा अत्याधुनिक फिटनेस क्लब संचालन हुनेछ। जसले भवनको दिगो सञ्चालनका लागि कोष संकलन गर्नेछ।
त्यस्तै दोस्रो तलामा क्लबको प्रशासनिक कामकाजका लागि कार्यालय कक्षहरू हुनेछन् भने तेस्रो र चौथो तलामा छात्रावास सुविधा हुनेछ। जहाँ न्यूनतम शुल्कमा केटा र केटीका लागि छुट्टाछुट्टै आवास उपलब्ध गराइनेछ भने योग्य खेलाडीहरूलाई छात्रवृत्ति पनि प्रदान गरिनेछ।
कर्णाली स्पोर्ट्स क्लबले यो परियोजना ग्रामिण क्षेत्रका खेलाडीहरूलाई सशक्त बनाउन र जुम्लालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद मानचित्रमा स्थापित गर्न महत्त्वपूर्ण कदमका रूपमा लिएको क्लबका सचिव मधुराज न्यौपानेले बताए।
“जुम्लाको अनौठो भौगोलिक बनावट र वातावरणले खेलाडीहरूको शारीरिक क्षमता र सहनशीलता अभिवृद्धि गर्न विशिष्ट भूमिका खेल्न सक्छ,” उनले भने।
धावक रोकायाले यो महत्वाकांक्षी परियोजनालाई सफल बनाउन कर्णाली स्पोर्ट्स क्लबसँग सबै सरोकारवालाहरूले सहकार्य गर्न अपिल गरेका छन्।
उनले भने, “यो परियोजना हाम्रो क्षेत्रको मात्र नभएर समग्र नेपालको खेलकुदको भविष्य निर्माण गर्ने आधार हो। यसका लागि हामी सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्न जरुरी छ।”
रोकायाको योगदानले नयाँ पिँढीलाई खेलकुदमा लगानी र नेतृत्व गर्न प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष पूर्ण प्रसाद चौलागाईंले बताए।
उनले भने, “यस योगदानमार्फत ग्रामिण खेलकुद विकासका लागि महत्त्वपूर्ण भूमिका खेलेको स्वीकार गर्दै, क्लबका पदाधिकारीहरूले रोकायालाई धन्यवाद ज्ञापन गरेका छन्।”
यो परियोजना भौतिक पूर्वाधार निर्माणमा सीमित नरही जुम्ला तथा नेपालभरका खेलाडीहरूको प्रतिभा उजागर गर्न महत्त्वपूर्ण कडी सावित हुने जुम्ला जिल्ला फुटबल संघका महासचिव दिपेन्द्र विक्रम हमालले बताए।
“धावक रोकायाको यो दानी स्वभाव अवर्णनीय छ। खेलाडीको भविष्य निर्माण यसले गर्न मुख्य भूमिका खेल्नेछ,” उनले भने, “रोकायाको यस योगदानलाई विश्वले मूल्यांकन गर्नेछ।”