सोमबार, ८ पुष, २०८१

फुटबललाई संस्कृति बनाउने ‘युद्ध फुटबल एकेडेमी’को लक्ष्य छ

राम्रो एकेडेमी भयो भने उत्कृष्ट खेलाडी जन्मन्छन्। बालबालिकामा लगानी गरे भविष्य उज्यालो हुन्छ। यो मेरो मातृभूमिप्रतिको योगदान हो।

कर्णाली प्रदेशले फुटबल खेलमा अपार सम्भावना बोकेको छ। यहाँका युवा खेलाडीले सीमित स्रोत-साधनकै बीच असाधारण प्रतिभा प्रदर्शन गर्दै आएका छन्।

यसै सन्दर्भमा कर्णालीबाट ‘ए’ डिभिजन लिगमा पुग्ने पहिलो खेलाडी युद्ध शाहीले सुर्खेतमा ‘युद्ध फुटबल एकेडेमी’ खोलेका छन्। उनको उद्देश्य कर्णालीका बालबालिकालाई फुटबलमा व्यावसायिक करियर बनाउन प्रेरित गर्नु हो।

खेलकुदले बालबालिकाको मानसिक र शारीरिक विकासमा मात्र योगदान गर्दैन, यसले उनीहरूको भविष्यलाई पनि सुनिश्चित गर्न सक्छ। ‘युद्ध फुटबल एकेडेमी’ को स्थापना कर्णाली क्षेत्रो फुटबलको लागि कोसेढुंगा सावित हुने उनको दृढता छ।

सैनिक सेवामा २१ वर्ष बिताएका उनले आफ्नो जीवनको अधिकांश समय फुटबललाई समर्पित गरेका छन्। सेनाको जागिरले उनलाई फुटबलमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने अवसर दिएको छ। २०६३ सालदेखि क्लब फुटबल खेल्न सुरु गरेका उनले २०६५ सालमा प्रतिष्ठित आहा रारा गोल्डकपबाट डेब्यु गरेका थिए।

उनको फुटबल यात्रा केवल प्रतियोगितामा सीमित रहेन। उनी फुटबललाई संस्कृति बनाउने र यसलाई युवाहरूको जीवनको अभिन्न अंश बनाउने उद्देश्यका साथ अघि बढेका छन्। भन्छन्, “खेल क्षेत्रमा लागेको मान्छे कुलतमा फस्दैन। यस्तो सकारात्मक वातावरण तयार पार्नु नै मेरो लक्ष्य हो।”

कर्णालीका बालबालिका असाधारण क्षमताका छन्। यद्यपि उनीहरूको प्रतिभा उजागर गर्ने कुनै प्रभावकारी संरचना हालसम्म उपलब्ध थिएन। यही कमीलाई सम्बोधन गर्न सुर्खेतमा ‘युद्ध फुटबल एकेडेमी’ स्थापना गरिएको उनको भनाइ छ। सुर्खेतलाई केन्द्रको रूपमा छनोट गर्नुको कारण त्यहाँका बच्चाहरूको पहुँच सहज हुनु हो।

एकेडेमीमा बालबालिकाका लागि हप्तामा दुई दिन सैद्धान्तिक तालिम दिइन्छ। त्यहाँ प्रयोग गरिएको फुटसल मैदान उच्चस्तरीय छ। पानी पर्नेबित्तिकै पनि खेल्न मिल्ने कार्पेट राखिएको छ। अत्याधुनिक सुविधासहित निर्माण गरिएको फुटसलमा मैदानबाहेक अन्य सुविधाहरूमा चेंजिङ रुम, वासरुम, जेनेरेटर रुम र लाइटिङ प्रणाली छन्।

मैदान निर्माणमा करिब १ करोड १५ लाख रुपैयाँ लगानी गरिएको छ। उनी भन्छन्, “यो मेरो लागि कुनै व्यावसायिक लगानी होइन। यो लगानीले कर्णाली र नेपालका युवा खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरको फुटबल खेल्न सक्षम हुन भन्न मेरो ध्येय हो।”

उनले आफ्नो अनुभवलाई आधार मान्दै बाल्यकालमै फुटबल खेल्न सिकाउनुपर्ने आवश्यकता औंल्याए। प्रारम्भिक सिकाइ र परिपक्वताको बीचमा ठूलो फरक हुन्छ। “सुरुको सिकाइ बलियो भए, भविष्य उज्यालो हुन्छ,” उनी भन्छन्।

एकेडेमीले प्रतिभावान् तर आर्थिक रूपमा कमजोर खेलाडीलाई नि:शुल्क तालिम दिनेजस्ता योजनाहरू अघि सारेको छ। नियमित तालिम लिनका लागि महिनामा जम्मा २५ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ। यो निकै कम शुल्क हो।

अझ आर्थिक रूपमा कमजोर परिवारका बालबालिकालाई नि:शुल्क खेल्ने र प्रशिक्षण लिन अवसर प्रदान गर्ने उनको उद्देश्य रहेको छ।

फुटबललाई युवाहरू एकीकृत गर्ने माध्यमका रूपमा उपयोग गर्न सकिन्छ भन्ने उनी ठान्छन्। अहिले पनि फुटबलका विभिन्न प्रतियोगिताहरू भइरहेका छन्। केपी शर्मा ओली कपले युवाहरूलाई एकत्रित गर्न सफल भएको छ।

उनी भन्छन्, “खेल क्षेत्र एकमात्र यस्तो माध्यम हो, जसले समाज र देशलाई एकताबद्ध बनाउन सक्छ। तर नेपालमा खेलाडीको भविष्य अझै अन्योलपूर्ण छ।” नेपालमा एनएसएल जस्तो प्रतियोगिता हुँदा पनि यसका खेलाडीहरूको पारिश्रमिक भारतको आईएसएल खेल्ने खेलाडीको तुलनामा निकै कम रहेको उनी बताउँछन्।

उनी भन्छन्, “खेलकुदले विभेद गर्दैन। यो जात, धर्म, वर्गभन्दा माथि उठ्छ। नेपालमा खेलकुदलाई अझै संस्थागत र व्यवस्थित बनाउनुपर्ने आवश्यकता छ।”

फुटबल करियरका क्रममा उनले अष्ट्रेलियाको मेलबर्न क्लबबाट खेल्न अफर पाएका थिए। उक्त क्लबले सम्पूर्ण सुविधा दिने भए पनि उनी त्यसमा सहभागी भएनन्। क्लबले उनलाई घर नफर्कनुपर्ने सर्त राखेको थियो। तर, उनी आफ्नै मातृभूमिमा केही गर्ने सोचका साथ नेपालमै बसे।

उनी भन्छन्, “नेपाली धेरैजसो खेलाडी विदेश गएका छन्। तर मलाई भने नेपालमै केही गर्नुपर्छ भन्ने लागेको छ। यो मेरो मातृभूमिप्रतिको प्रेम हो। यसले मलाई मेरो कर्तव्य पूरा गरेको अनुभूति गराउँछ।”

जुम्ला र कर्णाली क्षेत्रमा फुटबलको क्रेज राम्रो छ। तर, यहाँका खेलाडीहरूको व्यवस्थापन र विकासमा ध्यान नदिएको उनको गुनासो छ। यस क्षेत्रका खेलाडीलाई सही अवसर दिन सके उनीहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गर्न सक्छन्।

उनले भने, “एन्फाले देशभरका ४८ जिल्लाबाट खेलाडी छनोट गर्छ। तर छनोट भएका खेलाडीहरूको भविष्य व्यवस्थापनमा चासो दिइँदैन। नयाँ खेलाडीलाई हौसला दिने वातावरण बनाउनुपर्छ।”

उनले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आफ्नो मैदान दिने प्रस्ताव गरेका छन्। यसले क्षेत्रीय खेलाडीलाई पनि राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने अवसर दिनेछ। हाल उनी नेपाली सेनाको महिला टिमलाई कोचका रूपमा प्रशिक्षण दिइरहेका छन्।

रिटायर्ड भएपछि उनी आफ्ना सबै योजनालाई व्यवस्थित गर्दै नेपाली फुटबललाई नयाँ उचाइमा पुर्‍याउने सोचमा छन्।

‘युद्ध फुटबल एकेडेमी’ कर्णाली क्षेत्रका लागि मात्र नभई सम्पूर्ण नेपालका लागि प्रेरणाको स्रोत बन्ने उनको मत छ। यो एकेडेमीले बालबालिकालाई फुटबल खेल्न मात्र सिकाउने छैन, उनीहरूको शारीरिक, मानसिक, र व्यावसायिक विकासमा पनि योगदान पुर्‍याउनेछ।

उनी भन्छन्, “राम्रो एकेडेमी भयो भने उत्कृष्ट खेलाडी जन्मन्छन्। बालबालिकामा लगानी गरे भविष्य उज्यालो हुन्छ। यो मेरो मातृभूमिप्रतिको योगदान हो।”

एकेडेमीको स्थापना नेपालमा फुटबललाई थप व्यावसायिक र लोकप्रिय बनाउन सहयोग पुर्‍याउनेछ।

यसले केवल कर्णाली क्षेत्रमै सीमित नभई देशभरि फुटबल खेलप्रतिको चेतना फैलाउनेछ। यो प्रयास नेपाली फुटबललाई अन्तर्राष्ट्रिय स्तरमा उचाइमा पुर्‍याउनका लागि महत्त्वपूर्ण आधारशिला हुने उनले बताए।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार