सोमबार, ८ पुष, २०८१

शैक्षिक सुधारका लागि तातोपानीका विद्यालय अनुगमन अभियान

उपाध्यक्ष रेवती रावलको नेतृत्वमा ८ नम्बर वडामा अनुगमन टोली खटाइएको छ भने ७ नम्बर वडामा शिक्षा शाखाका प्रमुख सुरत बहादुर शाहीको टोली खटिएको छ। बाँकी वडाहरूमा अध्यक्ष चौलागाईंको नेतृत्वमा टोलीले काम गरिरहेको छ।

जुम्लाको तातोपानी गाउँपालिकाले समग्र शैक्षिक सुधारका लागि विद्यालय अनुगमन अभियान सुरु गरेको छ। गाउँपालिकाका सबै ८ वडामा बिस्तृत अनुगमन अभियान संचालनमा आएको छ। जसमा गाउँपालिकाका जनप्रतिनिधि र शिक्षा क्षेत्रका प्राविधिकहरूको सक्रिय सहभागिता रहेको छ।

गाउँपालिकाका अध्यक्ष नन्द चौलागाईंका अनुसार यो अभियान शैक्षिक प्रणालीलाई प्रभावकारी बनाउँदै विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्न अभिप्रेरित छ।

“अनुगमनका क्रममा विद्यालयमा भएका सकारात्मक र नकारात्मक पक्षलाई प्रस्ट्याउँदै सुधारका लागि योजनाबद्ध रूपमा अगाडि बढ्ने हाम्रो उद्देश्य हो,” उनले भने।

तातोपानी गाउँपालिकाले अनुगमन कार्यलाई प्रभावकारी बनाउन वडागत रूपमा टोली गठन गरेको छ। उपाध्यक्ष रेवती रावलको नेतृत्वमा ८ नम्बर वडामा अनुगमन टोली खटाइएको छ भने ७ नम्बर वडामा शिक्षा शाखाका प्रमुख सुरत बहादुर शाहीको टोली खटिएको छ। बाँकी वडाहरूमा अध्यक्ष चौलागाईंको नेतृत्वमा टोलीले काम गरिरहेको छ।

अनुगमन अभियानले विद्यालयको शैक्षिक र प्रशासनिक पक्षलाई सुधार गर्न विभिन्न विषयलाई प्राथमिकतामा राखेर काम थालेको छ। जसमा विद्यालयहरूले सामाजिक लेखापरीक्षण गरेका छन् कि छैनन् भन्ने विषयमा टोलीले समीक्षा गरिरहेको छ भने लेखापरीक्षण नभएको अवस्थामा त्यसको कारण पहिचान गरिने उपाध्यक्ष रावलले बताइन्।

उनका अनुसार विद्यालयको अन्तिम लेखापरीक्षण भएको छ कि छैन? यदि छैन भने, यसमा देखिएका बाधा र चुनौतीहरू पत्ता लगाएर समाधानको लागि सिफारिस गरिनेछ।

विद्यालयमा एकीकृत तालिम लिइएको भए, त्यो तालिम कक्षा कोठामा लागू भएको छ कि छैन भन्ने कुराको अनुगमन गरिएको छ। लागू नभएको अवस्थामा सहभागी शिक्षकहरूको विवरणसहित कारण पत्ता लगाइने शिक्षा शाखा प्रमुख सुरत शाहीले जानकारी दिए।

“विद्यालयले आफ्नो विद्यालय सुधार योजना (School Improvement Plan) बनाएको छ कि छैन भन्ने विषय पनि अनुगमनमा समेटिएको छ। योजना बनेको भए, त्यसको अद्यावधिक स्थिति पनि जाँच गरिँदैछ,” उनले भने।

उनका अनुसार विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रमलाई विशेष रूपमा अनुगमन गरिंदैछ। सहकारी संस्थाले उपलब्ध गराएको मेनु अनुसार दिवा खाजा वितरण भइरहेको छ कि छैन भन्ने कुरा सुनिश्चित गरिन्छ। साथै, विद्यालयमा भान्साघर छुट्टै छ कि छैन भन्ने कुरा पनि हेर्ने काम भइरहेको छ।

त्यस्तै विद्यालय उमेरका सबै बालबालिका विद्यालयमा छन् कि छैनन् भन्ने तथ्यांक संकलन गरिएको छ। विद्यालय बाहिर रहेका बालबालिकाको संख्या र तिनीहरूको पुन: भर्ना प्रक्रियाका लागि आवश्यक सिफारिस गरिने तातोपानीका अध्यक्ष चौलागाईंको भनाइ छ।

उनका अनुसार शिक्षकहरू कक्षा कोठामा दैनिक पाठयोजनासहित उपस्थित छन् कि छैनन् भन्ने पनि अनुगमन गरिंदैछ। “विद्यार्थीहरूको सिकाइ स्तर सुधार गर्न शिक्षकहरूको अनुशासन र जिम्मेवारीलाई कडाइका साथ निगरानी गरिनेछ,” उनले बताए।

यो अभियानले विद्यालयको समग्र सुधारतर्फ सकारात्मक परिवर्तन ल्याउने उनको विश्वास छ। “हामीले शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता दिएका छौं। यस अनुगमनबाट प्राप्त नतिजाले आगामी योजनाहरूलाई मार्गदर्शन गर्नेछ,” उनले थपे।

तर, यो अभियानले केही चुनौतीहरूको सामना पनि गरिरहेको छ। दुर्गम स्थान, जनशक्ति अभाव र स्रोतसाधनको कमी अनुगमन कार्यलाई कठिन बनाउने प्रमुख कारक हुन्। यद्यपि, जनप्रतिनिधि र स्थानीय समुदायको सहकार्यले यी चुनौतीहरूलाई न्यून गर्ने प्रयास भइरहेको छ।

तातोपानी गाउँपालिकाको यो अनुगमन अभियानले शैक्षिक सुधारको दिशामा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। विद्यालयमा देखिएका कमजोरी र समस्याहरू पहिचान गरेर समाधानका लागि योजनाबद्ध कार्ययोजना तयार गरिनेछ।

“यो अभियानले शिक्षा प्रणालीलाई सुधार गर्न मात्र होइन, स्थानीय तहलाई शैक्षिक क्षेत्रको वास्तविक स्थिति बुझ्न र आवश्यक सुधारका उपाय पहिल्याउन सहयोग पुर्‍याउनेछ,” शिक्षा शाखा प्रमुख शाहीले बताए।

तातोपानी गाउँपालिकाले सुरु गरेको यो अभियान अन्य स्थानीय तहका लागि पनि अनुकरणीय बन्न सक्ने उपाध्यक्ष रावलको तर्क छ। उनले भनिन्, “गुणस्तरीय शिक्षा उपलब्ध गराउन सबै तहले यस्ता प्रयास गर्न आवश्यक छ। तातोपानीले सुरु गरेको यो प्रक्रिया शैक्षिक क्षेत्रको विकासको लागि एक सकारात्मक कदम हो।”

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार