असार १५ धान दिवस विशेष
कालीमार्सी धान उत्पादन र त्यसको इतिहासलाई नियाल्न हो भने बीउको विस्तारको जस बाबा चन्दनाथलाई जान्छ । उनकै नाममा मानो पाथि उठाएर सिक दिने चलन हालसम्म पनि कायम रहनु उनीप्रतिको सम्मान हो । तर, विभिन्न तथ्य र कथ्यका घटनाक्रम इतिहासँग नमिलेको देखिन्छ ।
कालीमार्सी जङ्गली रैथाने धान हो वा लोकगीत, लोककथनमा प्रचलित कुमाउ, काश्मिरबाट आयातित ? यो विमर्श गर्नुपर्ने महत्वपूर्ण प्रश्न हो । कालीमार्सीको ओरिजिनसम्बन्धी मूलतः चार थरि मत रहेका छन् । पहिलो, बाबा चन्दननाथले दीर्घकालिन तपस्याबाट मार्सी धानको बीउ पत्ता लगाएका हुन् । उनले धानको खेती प्रणालीबारे लछालकृति पैकेलोलाई प्रशिक्षण दिएका थिए र लछालकृति पैकेलोले पहिलो प्रयोग लाछु जिउलाको गुरुफोक्टोमा गरेका थिए । दोस्रो, मार्सीको बीउ भारतको कुमाउ आउँजाउँको क्रममा भित्रिएको हो । तेस्रो, बाबा चन्दननाथले भारतको काश्मिरबाट बीउ ल्याएर यस क्षेत्रमा खेती गराएका हुन् । र चौथो, मार्सी जङ्गली रैथाने जातको धान हाे । बस्तीको विकाससँगै धानको घरेलुकरण भयो र यसको उत्पादनले व्यापकता पायो ।
लाछुबाट नै धानखेती प्रारम्भ गरिएको हो भन्ने तथ्यलाई (यहाँ संस्कृतमा लेखिएको पाण्डुलिपिको नेपाली अनुवाद समावेश गरिएको छ) निम्न पाण्डुलिपिले व्यक्त गर्दछ ।
दयालु सिद्ध चन्दननाथ बाबाले लक्षु (लाछु) गाउँमा जन्मेका कृतवीर्य नाम गरेका एकजना बलशाली शिष्यलाई यो रहस्यपूर्ण उपदेश दिनुभयो। अन्नबाट सम्पूर्ण प्राणीको उत्पत्ति र रक्षा हुन्छ । त्यो अन्नलाई मेघ (वर्षा) ले रक्षा गर्दछ। यज्ञ (यज्ञको धुँवा) बाट मेघ उत्पन्न हुन्छ । यज्ञ भनेको कर्म हो। कर्मअनुसार प्राणीको जन्म र मृत्यु हुन्छ, कर्मबाट नै देवताहरू प्रशन्न हुन्छन्। यसैले मानिस सधै कर्मशील हुनुपर्छ । त्यसैले तिमी पनि सम्पूर्ण लोकको हितका लागि कर्म गर । शाली धान (मार्सी धान), मास, मुङ, कागुनुआदि धेरै किसिमका अन्नहरू यज्ञ गर्नका लागि जम्मा गर । आफ्ना सन्तानहरूको सहयोगबाट खेत बनाऊ । मैले दीर्घकालिन तपस्याबाट प्राप्त गरेको शाली धान ल्याएको छु । यो प्रयोगबाट सिद्ध भइसकेको छ । यो हैमदेश(हिउँ पर्ने ठाउँ) का लागि उपयुक्त छ । हे लक्षुवासी शिष्य ! अन्नको अभावबाट कुनै पनि कर्म वा विधिहरू सम्पन्न गर्न सकिँदैन । अतः ती सम्पूर्ण कर्महरूको सम्पन्नताका लागि धान रोप । यो कार्य सफल हुन्छ र यसको विस्तार पनि हुन्छ । प्रत्येक वर्ष चैत महिनाको १२ गते केलाइएका धानहरू चिसो पानी, नदी अथवा कुनै जलाशयमा डुबाउनुपर्छ । यस प्रक्रियाबाट रोप्दा एक पाथी धानबाट एक भारी(मुरी) धान फल्दछ । चार दिनपछि अर्थात् चैत महिनाको १६ गते बिहान जलमा भिजाइराखिएको उक्त धानलाई जलबाट निकाल्नु पर्छ । त्यसपछि उनको वस्त्र ओछ्याएर करिब तीन घण्टा जनि राख्नु पर्दछ । अनि, पूरा भिजेको पनि होइन र पूरा सुकिसकेको पनि होइन, यस्तो अवस्थामा रहेका ती धानलाई लिपिएको र आगाले तातो भएको घरको बीचको कोठामा पातहरू ओछ्याएर त्यसमाथि पर्वतको आकार बनाएर राख्नुपर्छ । सल्लाका बोक्रा, भुर्जपत्र(भोजपात) र कम्बलले छोप्नुपर्छ र दुई दिन राख्नुपर्छ त्यसपछि धान अङकुरित हुन्छन्, टुसाउँछन् । यसपछि धान छोप्नका लागि प्रयोग गरिएको भोजपात, कम्वल आदि हटाएर आगोको तातो नपर्ने गरी धानमा चिसो पानी छर्नुपर्छ । गोठको परिपक्व मल हाल्नुपर्छ र अरू दुई दिन त्यत्तिकै राख्नुपर्छ । यसो गर्दा टुसाहरू बलिया हुन्छन् । यसपछि चैत २० गते मङगलाचरणपूर्वक परिवारसहित भएर धेरै जल भएको ठाउँमा ती अङ्कुरित धानहरू रोप्नु पर्छ । त्यस दिन मिष्ठान्न भोजन गर्नु पर्छ । यसपछि बैशाख सङ्क्रान्तिका दिन नारीहरूले सात गाँठा पारिएको रङ्गीन धागो अर्थात् रक्षासूत्र बाँध्नुपर्छ । खेतका देवता तथा अन्य देवतालाई पुवा चढाउनुपर्छ । खेतमा काम गर्ने सबैलाई त्यो प्रसाद दिनुपर्छ । यसै दिन रोपिएका ती धानमा २० अञ्जुली पानी चढाउनु पर्छ र सूर्यको तापबाट तातेको जल खेतबाट बाहिर फाल्नु पर्छ । यसो गरेमा सम्पूर्ण परिवारको कल्याण हुन्छ । शाके ९६३ अर्थात वि.सं. १०९८ (स्रोतः पूर्ण सिंह कठायत, चन्दननाथ नपा र अनुवाद डा. प्रेम चौलागाई, रावतवाडा)’ (हेर्नुस्, (राजबहादुर कुँवर, जुम्लाको वैकल्पिक इतिहास ।) यो तथ्यसँग समेटिएको मिति निकै विवादास्पद छ । बाबा चन्दाननाथको समय खस साम्राज्य विघटन र जुम्ला राज्यको स्थापना सँगै भएको देखिन्छ । त्यो भनेको साडे सोह्रौं शताब्दीको अवधि हो । जसलाई यति सजिलै पत्याउन सकिँदैन ।
यो लिपिको मितिअनुसार जुम्लामा धानखेतीको इतिहास झण्डै ९७८ वर्ष पहिले विस्तारित हुन्छ । जुम्लामा कम प्रचारित यो तथ्यले धान उत्पादनको ऐतिहासिकतालाई प्रस्तुत गरेको छ । धान अन्यत्र कतैबाट नभएर जुम्लामै बाबा चन्दननाथले प्रशोधन गरी पत्ता लगाएका हुन् । उनले बलशाली शिष्य ‘कृतवीर्य’मार्फत् खेती बिस्तार गराउन प्रशिक्षण दिएका थिए । उनै ‘कृतवीर्य’ लछालकृती पैकेलोको नामले चिनिन्छन् ।
लछालकृती पैकेलोसँग जीवनमा आधारित चर्चित लोक कथा पनि छ । उनको पराक्रमसँग जोडिएका लोक कथा पुस्तान्तरण हुँदै हालसम्म पनि अस्तित्वमै छन् । कथा शसक्त छ । त्यसको सारांशलाई यहाँ उतार्नु उपयुक्त ठानेको छु ।
…अहिलेको लाछु जिउलोमा त्यसबेला चुकको झाडी मात्र थियो । लछालकृती पैकेलो त्यहाँ खेत बनाइरहेका थिए । पैकेलोको पराक्रम त्यसबेलाको सिंजा साम्राज्यभरि फैलियो । सिंजापति राजालाई यो चित्त बुझेको थिएन । उनी कुनै पनि हालतमा पैकेलोको पराक्रममा पूर्णविराम लगाउन चाहन्थे । उनले सिपाही खटाएर पैकेलोलाई आफ्नो दरबारमा हाजिर हुन आदेश दिए ।
सिञ्जापति राजाका सिपाही पैकेलो खेत बनाइरहेको ठाउँमा पुगे । उनले सिपाहीलाई लामो बाटो सिकाएर बासस्थानतर्फ पठाए । आफू छोटो बाटो हुँदै उनीहरुभन्दा अगाडि पुगे । सिपाही घर पुगेपछि उनी सिंजा हिँड्नु पर्यो ।
पैकेलोलाई मार्न राजाले बाटोमा विभिन्न अवरोध खडा गरेका थिए । जुम्ला सिंजाको सापखण्ड, बाघखण्ड, छालाचौर लगायतका ठाउँमा उनलाई अवरोध खडा गरिएको थियो । उनले बहादुरीपूर्वक ती अवरोध छिचोल्दै अघि बढे र राजाको दरबारसम्म पुगे । त्यति गर्दा पनि नमरेपछि राजाको सम्पूर्ण शक्ति, सत्ता, संयन्त्र र कुटिल चालले पैकेलो मारिए ।
लाछु जिउलो पैकेलाको नामबाट नामाकरण गरिएको छ । उनले सबैभन्दा पहिला बनाएको सानो खेतलाई गुरु फोक्टो भनेर चिनिन्छ । आज पनि त्यस खेतमा धान रोपाइँ गरिन्छ र प्रत्येक वर्ष एक सुपो धान उब्जाउ हुन्छ ।
बाबा चन्दननाथको दीर्घ तपस्याबाट पत्ता लागेको कालीमार्सी लछालकृतीले खेत बनाएर प्रयोग गरे । चुकको झाडी पन्छाएर गरिएको धानखेती जुम्लाको कृषिमा सवैभन्दा महत्वपूर्ण कृषि क्रान्तिमध्ये एक हो । लछालकृती पैकेलो धानखेती गर्दागर्दै सिंजाली राजाद्वारा मारिने अन्वेषक हुन् । वैज्ञानिक हुन् र नेपालको कृषि आन्दोलनमा ज्ञात कृषि क्षेत्रका प्रथम शहीद हुन् । कालीमार्सीको इतिहास रगतले रंगिएको छ भन्दा कुनै अतियुक्ति हुँदैन ।
सिञ्जाको रनुखानामा प्रचलित लोकसाहित्य ‘मागल’ अनुसार धानको बीउ काश्मीरबाट नभएर कुमाउबाट ल्याइएको बुझिन्छ ।
कुमाउँकी ‘तुलछाया’ जुम्ला माइत आइछुन्,
‘जोडो मार्स्या’ नासो ल्याइछुन्,
धोदी हाली, पोको पाढी नासो ल्याइछुन् ।
यो लोकसाहित्यले भन्छ- कुमाउँमा बिहे गरेकी ‘तुलछाया’ नामकी महिला जुम्ला माइत आउँदा नासो स्वरुप जाडोमा हुने मार्सीलाई ल्याएकी थिइन् र त्यही धानलाई खेती गरी विस्तार भएको हो ।
१२औं शताब्दीतिर नागराजले जुम्ला सिञ्जामा स्थापना गरेको सिञ्जा राज्य कर्णाली क्षेत्रलगायत कुमाउँ र भोटका गुगे र पुराङसम्म फैलिएको थियो । त्यस्तै वर्षामा सिञ्जा र हिउँदमा दैलेखको दुल्लु राजधानी थियो । त्यसकारण सिञ्जा साम्राज्यको सम्पर्क यी सबै ठाउँमा थियो । बिहेबारी, व्यापार लगायत सम्बन्धको कारण आउजाउ भैरहन्थ्यो । एक ठाउँमा खडेरी परेर अनिकाल पर्दा बीउ मासिने खतरा हुन्थ्यो । हावापानी उस्तै भएका कुमाउँ र जुम्लाले एक अर्कालाई सहयोग गर्थे ।
हाल सिंजा रनुखाना बस्तीको पुर्खा कुमाउँबाट अछामको तोसी धमाली हुँदै दैलेख दुल्लु रनुखाना बसाइ सरेका हुन् । राजाको भात पकाउने बाहुन ‘मुसु पाद्य’ दुल्लुबाट जुम्ला राजासँगै आएका थिए । राजा शिकार खेल्न गएको बेला दुईजना असाध्यै राम्री महिला आएर राजालाई भनेर पकाएको भात मागेर खान्छन् । उनीहरु गैसकेपछि फेरि भात पकाउन लाग्दा त्यो भात जस्ताको त्यस्तै हुन्छ । यो कुरा ”मुसु पाद्य’ले राजालाई सुनाए । राजाले उसाेभए आज एक रात यतै बसौं भने । राती मुसु पाद्यको सपनामा दिउँसो भात खाने महिलाहरु आएर अब तिमी यतै बस र यहाँ धानखेती गर भन्दै धानखेतीको तरिकाबारे अर्ति दिए । बिहान उठ्दा उनले राजालाई सपनाको कुरा सुनाए र त्यही बस्ने अनुमति मागे । राजाले अनुमति दिए । साथै उनको सहयोगी एकजना सार्की छोडिदिए । मुसु पाद्य आफ्ना भाइ बोलाएर त्यहीँ खेती गरी बसे । दैलेख रनुखानाबाट जुम्ला सिञ्जा आएका उनीहरु बसेकाे ठाउँ पनि रनुखाना नै रहन गायाे । मुसु पाद्यकाे सापनामा आउने महिलालाई गाउँलेहरु ‘रोप्नीमाई’को रुपमा पूजा गर्न थाले । अहिले रनुखानामा बाहुन र सार्कीको मात्र बसोबास छ । रनुखानामा जुम्ला जिल्लाभरि प्रचलितभन्दा फरक तरिकाले धान उमार्ने गरिन्छ । सो फरक तरिकालाई गाउँलेहरु रोप्नीमाईको वरदान मान्छन् । जिल्लाका सबै ठाउँमा घरमा नउम्रिएको बीउ बेर्नामा छर्न मिल्दैन तर रनुखानामा उम्रिएको बीउ छर्दा बिग्रन्छ ।
८ गते नदी वा खोलामा भिजाएको धान १२ गते उतारेर बेर्नामा लगेर छरिन्छ । त्यसको केही दिनपछि बीउ आफै उम्रिन्छ । २०५८ सालमा माओवादीले देवीको वर होइन भनेर त्यहाँ रोप्नी माइको थान भत्काए । एउटा बेर्नामा सिधै नभिजाएको धान छरे भने अर्काे बेर्नामा उमारेको धानकाे बीउ छरे । दुबै प्रयोग असफल भयो । परम्परागत तरिका नै सफल भयो । रोप्नी बेर्नाको निश्चित क्षेत्रफलभन्दा वरपर कुनै पनि ठाउँमा त्यो तरिकाबाट बीउ उमार्दा सफल हुँदैन ।
त्यहाँ मात्र फरक किसिमले बीउ उम्रनुको अन्तर्य के हो ? त्यो विषयमा अनुसन्धानको खाँचो छ । यसैपनि १८०० मिटरभन्दा माथि धानको बीउ आफैँ उम्रदैन । उमारेर छर्नुपर्ने हुन्छ । सिञ्जा रुनुखाना २६४० मिटरको उचाइमा अवस्थित छ ।
त्यस्तै बाबा चन्दननाथले काश्मिरबाट धानको बीउ ल्याएर खेती गराएको भन्ने कथ्य सबैभन्दा बढी प्रचारित छ । आजसम्म अध्ययन अनुसन्धान गर्ने सरकारी निकाय, सञ्चार माध्यम, विभिन्न व्यक्तिले लेख्दै र बोल्दै आएको पनि यही हो । प्रसिद्ध भूगोलविद् हर्क गुरुङले आफ्ना दुई पुस्तक ‘विषय विविध’ र ‘मैले देखेको नेपाल’मा ’१५औं शताब्दीताका काश्मिरबाट योगी चन्दननाथले जुम्ला क्षेत्रमा धानको बीउ ल्याएका थिए’ भनेर लेखेका छन् ।
सान् २०११ मा प्रकाशित एग्राेनाेमी जर्नल अफ नेपालकाे भाेलुम २ मा एम एन पाैडेलले १३०० वर्षअघि तिलानदीकाे छेउछाउमा धानखेती सुरु गरिएकाे लेखेका छन् । १० साउन २०७५ काे अन्नपूर्ण पाेष्टका सुरेन्द्र काफ्लेले सन् १३०० सालमा गुरु चन्दननाथ स्वामीले भारतको काश्मिरबाट कालीमार्सी धानको बीउ ल्याई तातोपानीमा लछालकृती पैकलालाई तालिम दिई लाछु ज्युलोमा धानखेती विस्तार गरेको इतिहास लेखेका छन् । त्यस्तै २५ असार २०७५ मा बाह्रखरीले चन्दननाथ बाबाले कहिले यो धान भित्र्याए भन्ने एकिन छैन भन्दै १२औं वा १४औं शताब्दीभन्दा पहिले बाबा चन्दनाथले कालीमार्सी भित्र्याएको अनुमानमा आधारित रिपोर्ट छापेको छ । डा. केसी आन्दाेलनकाे बेला कालीमार्सी धानकाे बारेमा रिपोर्ट छाप्ने पत्रपत्रिकाले मुलत: जुम्लातिरका जाे भेटियाे उसैकाे भनाइलाई आधार मानेकाे देखिन्छ ।
धानविज्ञ भोलामानसिंह बस्नेत चन्दननाथ बाबाले भारतको काश्मिरबाट यो धान पहिलोपल्ट ल्याएर जुम्लाको छुम जिउलो भन्ने ठाउँमा लगाएको भन्ने इतिहास रहेको बताउँछन् ।(बाह्रखरी २५ असार २०७५) तर, उनको यो तर्क निकै हचुवा र कमसल खालकाे छ । छुम जिउलोमा धेरै पछि मात्र धान खेती गर्न थालिएको हो । छुममा पहिलो पटक धान रोप्ने पुनिमल बोहोरा र काशिराम महतारा हुन् । जसकाे चाैथाे पुस्ता अहिले पनि भेटाउन सकिन्छ ।
त्यस्तै बाली विज्ञान महाशाखाका वैज्ञानिक राजेन्द्रकुमार भट्टराई उच्च पहाडी भागमा हुने रैथाने जातको धान नै जुम्ली मार्सी भएको बताउँछन् । उनी स्थानीय भनाइलाई सापटी लिदै भन्छन्, ‘मार्सी जुम्लाको चन्दननाथ मन्दिरका पुजारीले भारतबाट ल्याएको भनाइ छ ।’(अन्नपूर्ण पाेष्ट, १० साउन २०७५) उनी एकातिर रैथाने भन्छन् भने अर्कोतिर भारतबाट ल्याएका भन्ने स्थानीय कथ्यलाई सत्य मान्छन् । वैज्ञानिकबाटै बचपना तर्क आउन थालेपछि धान उत्पादनको ऐतिहासिकताबारेको अनुसन्धान कहाँ छ भन्ने प्रष्ट हुन्छ ।
२०२७ सालमा नेपाली भाषाको ब्यूत्पत्तिथलो खोजी गर्न सिञ्जा पुगेका सत्यमोहन जोशीले मष्टो परम्परासँग जोडिएको कर्णालीकाे खेतीपाती जुम्ली वंशावलीलाई स्राेत मानेर आठाैं शताब्दीतिर सिद्धपुरुष चन्दननाथले काश्मिरबाट धानकाे बीउ ल्याएर आफ्ना एकजना भक्त लछाललाई दिएका थिए रे भनेका छन् । (हेर्नुस्, राइस साइन्स एण्ड टेक्नोलोजी इन नेपाल, २०११ पृष्ठ ३२)
यसरी मार्सी धानको बीउ काश्मिरबाट ल्याएको प्रसङ्गको जपना बढी भए पनि ऐतिहासिक घटनाक्रमसँग नमिलेको हुनाले एउटा तर्कको रुपमा लिन सकिन्छ तर पत्याउन सकिने अवस्था छैन ।
यद्यपि जुम्ली मार्सी जङ्गली रैथाने धान पनि भन्ने गरिएको छ । यो अनुमानमा आधारित कथ्य हो । यो विषयमा कुनै खालको अध्ययन देखिदैन । हाल चारवटा मात्र जंगली धान रेकर्डमा भएपनि २०४५/४६ सालसम्म नेपालमा मात्र नौवटा जङ्गली धान सङ्कलन थियाे तर यी धानहरु रेकर्डमा छैनन् । (हेर्नुस्, Joshi Bal Krishna rice gone pool for train areaas of Nepal, Nepal agriculture research journal p 20-22) यसले मार्सी जङ्गली हो कि भन्ने अनुमान गर्न सहयोग मिलेको छ तर यतिको उचाइमा जङ्गली धान फलेको तथ्य सजिलै स्वीकार गर्न सकिने अवस्था छैन ।
धान उत्पादन र त्यसको इतिहासलाई नियाल्न हो भने बीउको विस्तारको जस बाबा चन्दनाथलाई जान्छ । उनकै नाममा मानो पाथि उठाएर सिक दिने चलन हालसम्म पनि कायम रहनु उनीप्रतिको सम्मान हो । तर, विभिन्न तथ्य र कथ्यका घटनाक्रम इतिहासँग नमिलेको देखिन्छ ।
त्यसैले नागराजभन्दा पहिला पनि सिञ्जा सभ्यतामा कामकाज भैरहेको थियो भन्ने बुझ्नुपर्ने हुन्छ । लछालकृती पैकेलोले धानखेती गरेको १०९८ को लिखत र सिञ्जा राज्यका संस्थापक नागराजको समयावधि नमिल्ने भएकोले नागराजभन्दा पहिले नै जुम्लामा अन्य राज्यको अस्तित्व थियो भनी स्वीकानुपर्ने हुन्छ । किनभने धानखेती गर्दागर्दै सिञ्जाको राज्यले षड्यन्त्रपूर्वक लछालकृती पैकेलाे मारिएको लोककहावत प्रचलित छ ।
कालीमार्सी धानको ओरिजन एक अनुसन्धेय विषय हो, जो कृषि वैज्ञानिकहरुले नै निष्कर्ष दिनुपर्ने हुन्छ । यो अध्ययनको निष्कर्ष के हो भने जुम्लाको धान खेतीको परम्परा हजार वर्षभन्दा पुरानो छ र कालीमार्सी जुम्लाको कृषि-क्रान्तिको एक महत्वपूर्ण हिस्सा हो ।