सोमबार, ८ पुष, २०८१

यसरी थालियो विश्वकाे अग्लाे स्थान(छुमचौर)मा धान फलाउन

एकदिन छुम गाउँकी देउमती महतारा तल्फी खठड्करा गएकी थिइन्। आफन्तले उनलाई एकमानाे चामल फाँकाे हाल(काचै खाउ) भनी दिए। उनले एक/दुई मुठी फाँकाे हालेर खाइन्। बाँकी रहेकाे चामल घरमा ल्याएर भात पकाइन्।

मिठाे चामल भात खानलाई गज्जब हुने, त्यतिकै फाँकाे हाल्नलाई पनि हुने। याे कुरा सुनेका गाउँलेहरु धान खेती गर्नलाई हुरुक्कै भए। यस्ताे गतिलाे खान्कीकाे खेती गर्न पाए हुन्थ्याे भनेर गाउँलेहरुबीच सरसहल्लाह भयाे।

छुमकै बलबहादुर महतारा अदालतमा काम गर्थे। जेठकाे महिना चन्दननाथ गुठीकाे सेरा जिउलाेमा धान राेपिएकाे थियाे। त्यहाँकाे धान राेपाइँमा गएका बलबहादुरले खेतकाे आलीनेर बचेर फालिएकाे एक मुठा धानकाे बिउ लिएर छुममा एक फाेक्टाे(सानाे खेत) बनाएर राेपे। पहिलाे वर्ष धानकाे असाध्यै राम्राे भयाे। बाला पनि लाग्याे। तर अन्तिममा फलेकाे धान पाकेन।

पछिल्लो वर्ष तिर्खु जिउलाेबाट बिउ ल्याएर धान राेपे। त्याे वर्ष पनि धान पाकेन। त्याे धान देखेर अलि अगाडि लगाएपछि धान पाकिजान्छ कि भनेर गाउँलेहरुबीच सरसल्लाह भयाे। तेस्राे वर्ष बलबहादुर महतारा जेठकाे पहिलाे हप्ता गिडीखाेला गए। त्यहाँबाट एक खेतलाई पुग्ने जति धानकाे बिउ ल्याए।

गाउँमा पुगेर जिउलाकाे एक फाेक्टाेमा धान लगाए। त्याे वर्ष धान फल्याे। पाक्याे। गाउँलेहरुका मुहारमा खुसी छायाे। अर्काे वर्ष छुम गाउँमै बिउ उमार्ने प्रयास गरियाे। त्याे सफल भयाे। त्याे वर्ष उही खेतमा धान फलाइयाे। पाक्याे। अब छुममा मार्सी धानकाे खेती हुने भयाे। विस्तारै छुम गाउँका सिमसिमे गराहरु खेतमा परिणत हुन थाले।

७१ वर्षका कालाे महतारा, ७४ वर्षका कलिमान महतारा र ७७ वर्षका भक्त बाेहाेराले एउटै प्रकारकाे कहानी सुनाए। उनीहरुले सुनाएकाे माथिको कहानीअनुसार छुममा धान खेती सुरु भयाे। करिब ३६ हेक्टर बराबरको खेतीयाेग्य पाखाे जमिन धान राेप्ने जिउलाेमा परिणत हुँदै गयाे। याे थियाे २०१२ सालकाे कुरा। त्यसबेला भन्दा अगाडि छुमचाैरमा धान फलाउने काेसिस गरिएकाे थिएन।

जब छुमचाैरमा धान फल्न थाल्याे, तब जिल्लामा फल्ने मार्सी धानकाे क्यालेन्डरमा अर्काे अलि फरक क्यालेन्डर निस्कियाे। ७० वर्षकी धनरुपा बाेहाेराका अनुसार छुमचाैरमा मार्सी धानकाे बिउ भिजाउने दिन चैत पाँच गते हाे।

“चैत ५ गते बाेरामा बाँधेर सुकाएकाे धान चैत १२ गते उतारेर आधा घण्टा जति घाममा सुकाइन्छ,” उनी भन्छिन्, “त्यही दिन घरकाे भान्सामा ताताे गरी राखेर चार दिन बिहान साँझ हल्का पानीमा छम्किँदा टुसाउँछ। टुसाएकाे धान चैत १६ गते बेड्नेटी(बेर्नामा) छरिन्छ।”

बिउ केलाउने दिन चैत पाँच गते हुरी, महरी, तल्फी, चाैर गाउँमा बिहे गरेर गएकी छुम गाउँकी छाेरी चेलीहरु माइतीमा बिउ केलाउँछन् भनेर हेर्न आउँछन्। त्याे दिन गाउँमा पर्व लागे जस्ताे हुन्छ। बिउ उतारेकाे १२ गतेका दिन चिउरा कुट्ने गर्छन्।

छुमबाहेक जिल्लाभर मार्सी धानकाे फरक खालकाे क्यालेन्डर छ। जाे चैत १२ गतेदेखि लागू हुन्छ। अर्थात चैत १२ गते धान भिजाइन्छ। १६ गते उतार्ने, घरमा न्यानाे गरी राख्ने, बिहान–बेलुका पानी हाल्ने र अंकुराइसकेपछि चैत २० गते बेर्नामा छर्ने गरिन्छ।

जिल्लाभरि चैत १२ गते बारुवा, १६ गते साेरुवा र २० गतेकाे बिसुवा पर्व मनाइन्छ। छुमचाैरमा भने यी कुनै पर्व मनाइँदैन। अन्त १६ गते कुट्ने चिउरा छुमचाैरमा १२ गते कुटिन्छ। “अग्लाे ठाउँ र चिसाे हुने हुनाले अगाडि नै बिउकाे काम गर्न थालिएकाे हाे,” स्थानीय कलिमान महताराले भन्छन्, ‘सबै कुरा गिडीखाेलाबाट सिकेर गरिएकाे हाे।”

धानकाे खेतीसँगै नयाँ क्यालेन्डर सुरु गरेकाे छुमचाैरले कतिपय मार्सी धानकाे लाेक साहित्य दुरुस्तै नक्कल गरेकाे छ भने केही आफैँ पनि विकास गरेकाे छ। अर्थात् चाैधबीसकाे छुमले पनि ऋतुहरुकाे रानाे ऋतु भनेर राेपाइँ गर्ने ऋतुलाई नै मानेकाे छ।

ऋतुको रानाय! ऋतु, ऋतु आइर गयो ऋतु रानाय!
इल्छा पाती पलैगयो(बोटबिरूवा पलाए)
घाडी प्याउँली फुलिगयो (खोला किनारमा प्याउली फुल्न थाले।)
घार मौरी ठुन्किगयो (बेगले उड्दै रस भेला गर्न थाले।) ऋतु रानाय!
गाड माछी छिल्किगयाे (नदीमा माछा खेल्न थाले।) ऋतु रानाय!
ऋतु रानाय! ऋतु, ऋतु आइर गयो ऋतु रानाय!
पूर्व छुचो पश्चिम चाक्लो पुल्ती डाबय(ठुलाे खेत),
डिल लस्कै, घाडी छप्कै, मार्सी धानय,
बोबैका जीउनारी लाग्यै मार्सी धानय,
जियैका(आमा) औसर लाग्यै मार्सी धानय,
बाबैका जीउनारी लाग्यै…!

याे सँगै छुमचाैरले मार्सी धानकाे आफ्नाे छुट्टै लाेक साहित्य पनि विकास गर्‍यो।
रोप रोप रोप्नेरीऔँ, हातको बिउ छिन्जेल,
आउनै रया मा बहिनीयौ, यो मरो जीउ छिन्जेल,
आगे साल भेट गरौंला, यो मेरो जीउ छिन्जेल,
आउनै रहुँला, जानै रहुँला, जीयाको(आमा) जीउ छिन्जेल…!

अन्त जस्तै छुममा जेठ महिनाभरि राेपाइँ हुन थाल्याे। सिमसिमे छुम पाखाे दिनदिनै खेतमा परिणत हुँदै गयाे। खेतका संख्या दिन दुई गुणा र रात चाैगुणा बढ्न थाले। राेटा खाने चाैधबिसेहरु भात खाने हुन थाले। विस्तारै भात प्रमुख खानाकाे रुपमा देखिन थाल्याे।
०००

पाखाेबारी खेतमा परिणत गरिएकाे हुनाले जिल्लाभरिका जिउलाका खेतहरुलाई एक भारी, दुई भारी भनेर मापन गरिने भएपनि चाैधबिसमा भारी खेत नभनि हल खेत भन्न थालियाे। जबकी जिल्लाभरि पाखाेलाई हल र खेतलाई भारीमा मापन गरिन्छ। “हामी खेतलाई पनि हल र पाखाेलाई पनि हल भनेर नै मापन गर्छाैं,” कालाे महताराले भने।

खेतबाट उत्पादन भएकाे धान एकजना जवान मान्छेले बाेक्नलाई एक भारी बराबर भयाे भने त्यसलाई एक भारी खेत भनिन्छ। दुई भारी उत्पादन हुने खेत दुई भारीकाे भनिन्छ। एक हल भनेकाे एक हल गाेरुले दिनभरी जाेत्ने बारी हाे। छुमचाैरमा एक हल खेतबाट तीन कट्टासम्म धान उत्पादन हुने गरेकाे भक्त बाेहाेराले बताए।

“धेरै खेत हुनेका २५, ३० बाेरा धान हुन्थे भने नहुनेका १०, १२ बाेरा धान हुन्थ्ये,” उनी भन्छन्, “अहिले त खेती गर्न पनि छाेडिहाले।”

छुमचाैरमा मार्सी धान खेती गर्ने जमिन घट्दै गएकाे छ। कतिपय जमिन बाँझाे छ भने कतिपय खेतमा मकै वा आलु लगाउन थालिएकाे छ।

स्थानीय भक्त बाेहाेराका अनुसार कात्तिककाे महिना तल्फी, चाैर, हुरी महरी गाउँका मान्छेले आफ्ना वस्तुभाउ घाेडाघाेडी छाडा छाेडिदिनाले भने युवाहरु रातदिन सुत्न पाउँदैनथे। त्यसमाथि पाक्ने बेलाका धानमा असिना परेर सबै झारिदिने हुनाले दु:ख थियाे। ‘धेरै साल यस्ताे भएपछि गाउँलेले धान खेती कमै मात्रामा गरे,’ उनले भने।

तथापी केहीले भने हरेक वर्ष धान राेप्दै आएका छन्। जसमा कलिमान महतारा एक हुन्। “हामीले आजसम्म पनि धान राेपिएरहेका छाैं,” उनले भने, “पाेहाेर साल तीन फाेक्टा राेपेपछि आठ कट्टा धान भए।”

पछिल्लो समय यार्सागुम्बाकाे भाउ अत्यधिक बढेपछि युवाहरु पाटनतिर जान लागे। यार्सागुम्बा र मार्सी धान राेप्ने सिजन एउटै भएपछि तुलनात्मक लाभ हेर्दा मार्सी धान राेप्न कामले प्राथमिकता नपाएकाे पातरासी गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बाेहाेराले बताए।

“बुढाबुढी नसक्ने भए। युवाहरु बढी पैसा आउने लाेभमा पाटन गए। त्यसकारण खेत बाँझा रहन थाले,” उनी भन्छन्, “अब पाटनमा यार्सागुम्बा उस्ताे पाइँदैन। कमाउने भन्दा जाने-आउने खर्च बढी हुन्छ। बरु संसारभर ब्रान्ड भनेर चिनिएकाे मार्सी धान खेतीमा मुनाफा छ। अब सबैले खेत बाँझाे नराखेर राेप्नुपर्छ।”

२०१२ सालमा खेत बनाएर मार्सी धानकाे खेती सुरु गरेका छुम गाउँबासीले आफ्नाे पाखाे जमिनलाई खेत भनेर २०२१ सालमा मात्रै दर्ता गरे। दर्ता गर्ने बेला गाउँलेहरुबीच खेतकाे तिराे बढी तिर्नुपर्छ भन्ने विवाद भएकाे कालाे महतारा सम्झिन्छन्।

“खेतकाे बढी तिराे तिर्नुपर्ने र पाखाेकाे कम तिराे तिर्नुपर्ने हुनाले विवाद भयाे। कतिले खेत भनेर दर्ता गर्नै मानेनन्,” उनी भन्छन्, “२०२८ साल र २०३५ सालसम्ममा दर्ता गर्ने काम भएपछि छुम जिउलाे भएकाे हाे।”

धान राम्राे बनाउन छुमका नागरिकले अथक मेहनत गरेकाे गाउँपालिकाकी उपाध्यक्ष जनमाया राेकायाले बताइन्। “धान खेतीमा महिलाहरुकाे मेहनत बढी छ,” उनी भन्छिन्, “त्यही भएर महिलाहरु राेप्ने बेला पीर व्यथाका गीत गाउँछन्। त्यसैले यसकाे गरिमा घट्न नदिन खेती गरिरहन जरुरी छ।”

रहरले सुरु गरेकाे धान खेती विश्वकाे अग्लाे उचाइमा फल्ने धान हाेला भन्ने उनीहरुलाई थाहा थिएन। “हामीले याे कुरा त पछि मात्रै थाहा पाएका हाैं,” स्थानीय श्रीराम थापा भन्छन्, “२८५० मिटरमा रहेकाे छुम जिउलाेमा धान खेती सुरु हुँदा एउटा गर्विलाे रेकर्ड कायम भएकाे छ। जुन पातरासी र सिंगाे जुम्लाकाे सान बनिरहेकाे छ।”

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार