हिमा आधारभूत विद्यालयका प्रधानाध्यापकसमेत रहेका उनले परम्परागत शिक्षण शैलीलाई चुनौती दिँदै विद्यालयलाई एउटा प्रयोगशाला बनाएर देखाएका छन्।
शिक्षा भनेको केवल किताबी ज्ञान प्रदान गर्ने माध्यम मात्र होइन। यो बच्चाहरुको जीवनशैली, चरित्र र सोच निर्माण गर्ने महत्वपूर्ण साधन हो।
यसै सन्दर्भमा चन्दननाथ नगरपालिका-७, मिचाका ३२ वर्षीय महेश रावलले देखाएको शिक्षण प्रयोग र सिर्जनात्मक प्रयास आजको शिक्षण प्रणालीका लागि प्रेरणादायी बनेको छ।
हिमा आधारभूत विद्यालयका प्रधानाध्यापकसमेत रहेका उनले परम्परागत शिक्षण शैलीलाई चुनौती दिँदै विद्यालयलाई एउटा प्रयोगशाला बनाएर देखाएका छन्।
रावलले २०७१ सालमा शिक्षक सेवा आयोगको परीक्षाबाट प्रावि तह स्थायी शिक्षकमा नाम निकालेर शिक्षण यात्रा आरम्भ गरेका थिए। बालबालिकाको भविष्य निर्माण गर्ने जिम्मेवारी पाएका उनले आफूलाई सधैं केही नयाँ गर्नुपर्छ भन्ने मनोभावनाले प्रेरित गरे।
उनी शिक्षणलाई केवल पुस्तक र कक्षाकोठाभित्र सीमित नराखी यसलाई जीवनसँग जोड्नुपर्ने ठान्थे। यही सोचले गर्दा उनी बच्चाहरूलाई नयाँ-नयाँ अनुभवका माध्यमबाट सिकाउन प्रयत्नशील रहिहरे।
रावलको शिक्षण शैली अद्वितीय र जीवन उपयोगी छ। उनले सिकाइ प्रक्रियालाई अनुभवजन्य बनाउनका लागि आफ्ना विद्यार्थीहरूलाई विद्यालयको चारदिवारबाट बाहिर लगिरहेका छन्। फलस्वरूप विद्यार्थीहरूले केवल किताबी ज्ञान मात्र हैन, वास्तविक जीवनका परिदृश्यहरूलाई नजिकबाट बुझ्न र अनुभव गर्न सकिरहेका छन्।
उनले बालबालिकालाई गाउँमा रहेका घरपालुवा जनावरबारे पढाउँदा तिनलाई प्रत्यक्ष देखाएर र बुझाएर सिकाउने प्रयास गरिरहेका छन्। बच्चाहरूलाई यस्ता जनावरहरूको व्यवहार, उपयोगिता र जीवनशैलीबारे जान्नका लागि गाउँको भ्रमण गराउँछन्। यसले उनीहरूको ज्ञान र जिज्ञासालाई उत्साहित बनाउँछ।
बालबालिकालाई पानीमा पाइने जीवहरूबारे बुझाउन उनीहरूलाई नजिकैको नदीमा लिने गरेका छन्। त्यहाँ उनीहरूले प्रत्यक्ष रूपमा माछा, भ्यागुता र पानीका अन्य जीवहरू हेर्दै तीनको जीवनचक्रबारे अध्ययन गर्ने मौका पाउँछन्।
विद्यार्थीहरूलाई खानाको महत्व र सरसफाइबारे जानकारी दिनका लागि उनले कक्षाकोठामा विभिन्न प्रकारका खानेकुरा प्रदर्शन गर्छन्। यसै क्रममा उनले सरसफाइको महत्वबारे गीत गाएर सिकाउने विधि अपनाएका छन्। यसले बालबालिकालाई व्यवहारिक रूपमा सरसफाइप्रति जिम्मेवार बनाउँछ।
उनले कुनै पनि समस्या समाधानका लागि बच्चाहरूलाई नाटक गर्न लगाउँछन्। नाटकको माध्यमबाट बच्चाहरूले विभिन्न भूमिका निर्वाह गर्दै जीवनका वास्तविक समस्याहरूलाई बुझ्ने र समाधान खोज्ने सीप सिक्छन्।
रावलको शिक्षण शैलीको मुख्य विशेषता भनेकै बालमैत्री दृष्टिकोण हो। उनी बच्चाहरूलाई कहिल्यै चुप लाग भन्न जरुरी ठान्दैनन्। उनी मान्छन् बच्चाहरूको जिज्ञासा र प्रश्नहरूलाई दबाउनु हुँदैन। बरु तिनको जिज्ञासालाई सहि दिशा दिएर उत्प्रेरित गर्नुपर्छ। केही दिन अघि उनले बालबालिका लक्षित उनको कविता लेख्दै उनले यस्तो भनेका छन्।
“किन चुप लाग भन्नु पर्ला?”
“किन ध्यान देउ भन्नु पर्ला?”
“किन हल्ला नगर भन्नु पर्ला?”
यस्ता प्रश्नहरूको सामना गर्ने परम्परागत शिक्षकहरूको शैलीबाट भन्दा विल्कुल टाढा रहेका रावल बच्चाहरूलाई स्वतन्त्र रूपमा व्यक्त हुन दिन्छन्। उनीहरूलाई कुराकानी, बहस र प्रश्नको माध्यमबाट सिक्न प्रेरित गर्छन्।
आजको युगमा, जहाँ अधिकांश शिक्षकहरूले परम्परागत तरिकाबाट शिक्षण गरिरहेका छन्। उनको यो प्रयास अन्य शिक्षकहरूको लागि अनुकरणीय छ। उनले भने, “शिक्षा भनेको केवल परीक्षा पास गर्ने प्रक्रिया मात्र होइन, जीवनलाई बुझ्ने र आफूलाई सुधार्ने माध्यम हो।”
महेशको प्रयोगात्मक र सृजनात्मक शिक्षण प्रक्रियाले धेरै सकारात्मक नतिजा दिए पनि उनले यस क्रममा विभिन्न चुनौतीहरूको सामना गर्नुपरेको छ।
शिक्षणका लागि आवश्यक स्रोतसाधनको अभाव, ग्रामीण क्षेत्रको सीमितता र शिक्षाका परम्परागत मान्यताहरूसँग जुध्नुपर्दा उनलाई कठिनाइ भएको छ।
तर यी सबै चुनौतीहरूलाई अवसरको रूपमा लिएर आफूलाई अझ सशक्त बनाउँदै लगेको उनले बताए।
“हामीले शिक्षणलाई अझ प्रभावकारी बनाउन नयाँ कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएका छौं,” उनले भने, “हाम्रो विद्यालयमा बालबालिकाका लागि डिजिटल शिक्षण सामग्री उपलब्ध गराउने कोसिस गरिरहेका छौं।”
उनले विद्यार्थीहरूको सर्वांगीण विकासका लागि बेलबेलामा अभिभावक र समुदायलाई समेत संलग्न गराउने गरिरहेका छन्।
समग्रमा उनले विकट क्षेत्रको शिक्षा प्रणालीमा नयाँ आयाम थपिरहेका छन्। उनको शिक्षणका नयाँ तरिकाहरूले बच्चाहरूको सोच, व्यवहार र जिज्ञासालाई नयाँ दिशा दिइरहेको छ।
यस्तो खाले शिक्षण शैलीले मात्र समाजलाई सकारात्मक परिवर्तनतर्फ डोर्याउन सक्ने उनको बुझाई छ। उनी निःसन्देह, शिक्षाको क्षेत्रमा एक प्रेरणादायी पात्र हुन्।