मंगलवार, ९ पुष, २०८१

सन्दुक रुइतको उपस्थितिमा प्रतिष्ठानले आँखा अस्पताल सुरु गर्दै

अहिले हातद्वारा गरिने अप्रेसन सुरु हुनेछ भने पछि फेको प्रविधिबाट अप्रेसन गर्ने गरि योजना अघि बढिरहेका छन्। उनका अनुसार यो नयाँ प्रविधि पाइपलाइनमा छ। आँखाको एउटा सामान्य विभाग सशक्त अस्पतालमा परिणत हुँदैछ।

जुम्ला । लामो समयदेखि निरन्तर प्रयास हुँदा पनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले आँखा उपचारको बन्दोबस्त मिलाउन सकेको थिएन। आँखाका डाक्टर उपलब्ध नहुनु प्रमुख समस्या थियोे भने राम्रा उपकरण नहुनु अर्को समस्या थियोे।

तीन वर्ष अगाडि डा. विश्व राज तिमिल्सिना कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पुगेका थिए। त्यतिबेला कोरोना महामारीको दोस्रो भेरियन्ट आएको थियोे। उपकरण नहुँदा आँखाको सामान्य चेक जाँच बाहेक धेरै हुन सकेन।

उनी आउनु भन्दा अगाडि प्राध्यापक डा. सुनु दुलाल थिए। उनले आँखाको विभाग स्थापना गरेका थिए। तर आफ्नो स्वास्थ्य समस्याका कारण लामो समय बस्न सकेनन्। विभाग राम्ररी संचालन हुन सकेन।

उनी आएपछि उपकरणको उपलब्धता राम्रो नभए पनि ओपिडी स्थापना गरेर सामान्य चेकजाँच गराउने काममा सफलता मिल्यो। तर अप्रेसन थियटरको बन्दोबस्त हुन सकेन।

डा. विश्वका अनुसार संसारभीमा सबैभन्दा बढी अप्रेसन आँखाको हुन्छ। उमेर अनुसार मोतिविन्दु सबैलाई हुन्छ। अर्थात् सबैको अप्रेसन गर्नुपर्ने हुन्छ। त्यही अप्रेसन प्रतिष्ठानमा हुँदैन थियोे।

अब भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आफ्नै आँखा अस्पताल सुरु हुँदैछ। त्यसैका लागि आँखाका विश्व प्रसिद्ध प्राध्यापक डा. सन्दुक रुइत जुम्ला आएका छन्।

आँखाका तमाम समस्याहरु समाधानका कोसिस नभएका होइनन्। प्रतिष्ठानले नेपाल नेत्रज्योति संघसँग एमओयू गरेर अस्पताल संचालन गर्ने योजना बनायो। त्यसमा जनशक्ति व्यवस्थापन प्रतिष्ठानले गर्ने र उपचारको बन्दोबस्त नेत्रज्योति संघले गर्ने कुरा थियोे।

प्रतिष्ठानले आँखा अस्पताललाई बाहिर राख्न नमिल्ने भयो। ती लगायत नेत्रज्योति संघका केही सिमा थिए। सम्झौता एक वर्ष भन्दा अगाडि जान सकेन।

पछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र डा. रुइत भेट भयो। उनी माथिल्लो कर्णालीलाई सहयोग गर्न तत्पर थिए। त्यसपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आँखा अस्पताल सुरु गर्ने योजना बन्यो भने योजनाको शीघ्र कार्यान्वयन पनि अगाडि बढेको प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले बताए।

‘विश्वले मानेको एक नामी प्राध्यापक डा.रुइत हामीलाई सहयोग गर्न तयार हुनुभयो,’ उनले भने, ‘आधा भन्दा बढी उपकरण पनि उहाँकै सहयोगमा आउँदैछ। उहाँको बलमा हाम्रो जनशक्ति प्रयोग गरेर अस्पताल सुरु गर्दैछौं।’

तिलगंगा आँखा अस्पताल, फ्रेड हलोज अस्ट्रेलिज पाट्नरले केही सामग्री सहयोग गरेपछि आँखाको मोतिबिन्दुको नियमित अप्रेसन र निरन्तर सेवा विस्तार विस्तार गर्न सकिने डा. विश्वको भनाइ छ।

‘सन्दुक रुइत नै यहाँ आउनु भएको छ। पातारासी, गुठीचौर, ताम्ती, नराकोटबाट स्रक्रिनिङ गरिसकिएको छ,’ उनले भने, ‘मुगु, डोल्पा, कालिकोट सबै ठाउँका बिरामी यहाँ बोलाएर अप्रेसन समेत गरि आँखा अस्पताल सुरु गर्दैछौं।’

भदौ २३ गते प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओली र प्राध्यापक रुइतको उपस्थितिमा आँखा अस्पतालको उद्घाटन हुँने उनले बताए।

‘अस्पताल उद्घाटन र सेवा पछि कमिनिटी स्क्रिनिङ गर्ने र स्कुलमा आँखा चेक गर्नेछौं। माथिल्लो कर्णालीमा देखिने आँखाका समस्याको समाधान अब प्रतिष्ठानले नै गर्नेछ,’ उनले भने।

अहिले हातद्वारा गरिने अप्रेसन सुरु हुनेछ भने पछि फेको प्रविधिबाट अप्रेसन गर्ने गरि योजना अघि बढिरहेका छन्। उनका अनुसार यो नयाँ प्रविधि पाइपलाइनमा छ। आँखाको एउटा सामान्य विभाग सशक्त अस्पतालमा परिणत हुँदैछ।

उनले प्रतिष्ठानको फेलोसिपमा थप अध्ययन गरेका हुन। यस हिसाबले उनी कम्तीमा पनि डेड वर्ष प्रतिष्ठानमा बसेर सेवा गर्नेछन्। त्यतिबेलासम्म आँखा अस्पतालमा सबै पुर्वाधारहरु खडा भइसक्नेछन्।

आँखामा देखिने समस्याहरुमा नसा, बच्चाको आँखा सम्बन्धि समस्या, जलबिन्दु लगायत समस्या हुन। उनी रेटिना तथा भिट्रसबारे थप पढाइ सकेपछि जुम्ला फिर्ता भएका हुन। आँखा अस्पताल स्थापना पछि उनको थप अध्ययन र सीपबाट कर्णालीका नागरिकले लाभ लिनेछन्।

आँखाको ओपीडीबाट मात्रै उपचार हुँदा सामान्यदेखि सामान्य समस्याहरु आउँदा पनि रेफर गरेर बाहिर पठाउनु पर्ने बाध्यता थियोे। तर अब जटिल खाले अप्रेसन पनि जुम्लामै हुनेछ।

‘अब शिविर कुरेर बस्नुपर्ने छैन। शिविर कुरुन्जेल मान्छेको छ महिना देखि वर्ष दिन जान्छ,’ उनले भने, ‘त्यतिन्जेल आँखामा अरु समस्या आउन सक्छन्। त्यसैले अब आँखामा जतिबेला जे समस्या पर्छ त्यसको तत्काल समाधान हुनेछ।’

काभ्रे धुदिदेल -११ का डाक्टर विश्वको बसाइँ र पढाइ दुबै काठमाडौं भयो। एमबीबीएस भैरहवामा गरे। एममडी शिक्षण अस्पताल महाराजगन्जबाट गरे। हुर्काइ र पढाइ सुविसम्पन्न ठाउँमा भएका उनी विकटमा सेवा गर्न पाउँदा आनन्द लागेको बताउँछन्।

उनी थप्छन्, ‘मलाई प्रतिष्ठान र तिलगंगाको सहयोगमा फेलोसीप मिल्यो। यस अघि नै कर्णाली आएको मलाई यो अवसरले थप बसालेर सेवा गर्ने मौका जुराएको छ।’

उनी एमबीबीएस सकाएपछि एक वर्ष दैलेख बसेका थिए। ११ महिना बुटवलमा काम गरेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान आएका थिए। दुई वर्ष बसेपछि पुन: फेलोसिप गर्न गए। अहिले प्रतिष्ठानमा अस्पताल बनाउने र उद्घाटन गर्न अन्तिम तयारीमा जुटेका छन्।

हिजो आँखाका समस्या आउँदा रिफर गर्ने डाक्टर आजै आफै सारा अप्रेसन गर्ने तयारीमा लागेका छन्। त्यसैले निकै उत्साहित छन्। प्राध्यापक डा. रुइतको सहयोगले उनको उत्साह थप बढाएको छ।

‘भोलीका दिनमा पनि उहाँबाट थप सहयोग लिन सकिनेछ,’ उनले भने, ‘यहाँको अस्पताल राम्रो बनाउन उहाँले राम्रो योगदान गर्नुहुने विश्वास लिएका छौं।’

मोतबिन्दुको अप्रेसन पछि काउज्सिलिङ गर्ने, बिमाबाट बिरामीलाई सेवा दिने तयारी गरिएको उनको भनाइ छ।

उनलाई सुविधासम्पन्न ठाउँमा काम गर्नलाई कुनै समस्या थिएन। तर पनि कर्णालीमा सेवा गर्नु उनले महत्त्वपूर्ण हुने ठानेका छन्।

‘म एकदम उत्साहित भएर आएको छु। यो ठाउँमा केही सुरुवात गर्न पाए भन्ने थियोे। अब त अस्पताल नै हुने भयो,’ उनले भने, ‘यसले भोलिका दिनमा आफ्नो समयलाई जागिरमा मात्रै व्यतीत गर्नुपर्ने स्थिति नआवि भन्ने हो।’

नेपालका धेरैजसो मेडिकल कलेजमा आँखाको सुविधा सहित सल्यक्रिया हुँदैन। तर प्रतिष्ठानले आँखा अस्पतालसँगै राखेर उपचार गराउने बन्दोबस्त मिलाउनु राम्रो उदाहरण प्रस्तुत गरेको छ। सेवा राम्रो हुन सकेमा नमुना काम हुनेछ।

उनका अनुसार निजी मेडिकल कलेजमा आँखा विभाव भए पनि सर्जिकल सेट अप हुँदैनन्। तर प्रतिष्ठान अरु सबै सर्जिकल सेटख अपग्रेट गर्न तयार छ।

‘तिलगंगाले सहयोग गर्ने भएपछि प्रतिष्ठान झन् राम्रो हुन्छ। लाखौं करोडौं खर्च जुट्नेछ,’ उनले भने, ‘अब विरामीले लाइफटाइम सुविधा पाउनेछन्।’

अहिले आँखा अस्पतालका निम्ति दुईनना डाक्टर छन्। थप कर्मचारी थपिदैछन्। जसले अस्पताल झन् राम्रो हुने डाक्टर तिमिल्सिनाको भनाइ छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार