मंगलवार, १७ असार, २०८२

जुम्लाको आचार्यबाडा स्थित मालिका आविमा ‘हाम्मो पढ्न्या मैडो’ पुस्तकालय स्थापना

मेसोपोटामियाको सुमेर सभ्यतामा माटोको ट्याब्लेटमा लेखिएका क्युनिफर्म लिपिहरू संग्रहित पहिलो पुस्तकालयहरू स्थापना भएको मानिन्छ। त्यसरी सुरु भएको पुस्तकालयको इतिहास आज अत्याधुनिक प्रविधियुक्त बनेर हाम्रो सामु आइपुगेको छ।

जुम्लाको चन्दननाथ नगरपालिका–१, आचार्यमा रहेको मालिका आधारभूत विद्यालयमा ‘हाम्मो पढ्न्या मैडो’ पुस्तकालय स्थापना भएको छ। कला घर जुम्लाको सहजीकरणमा स्थापना भएको यो पुस्तकालयले विद्यार्थी र समुदायमा पठन संस्कृतिको विकास गर्ने अपेक्षा गरिएको हो।

विद्यालयका प्रधानाध्यापक हेमन्तबहादुर महतले पुस्तकालय स्थापनालाई ऐतिहासिक कदम ठान्दै यसले बालबालिकालाई पढ्ने बानीको विकास गर्नुका साथै समाजमा असल ज्ञान र सीपको विस्तार गर्ने बताए।

“यो पुस्तकालयले हाम्रा विद्यार्थीको भविष्य उज्ज्वल बनाउनेछ,” उनले भने, “सहयोग गर्ने कलाघर लगायत सबैप्रति हामी कृतज्ञ छौं।”

कार्यक्रममा चन्दननाथ नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खडानन्द चौलागाईंले पुस्तकालयलाई ज्ञानको भण्डारको रूपमा व्याख्या गर्दै यसले विद्यार्थीमा पठन संस्कृति र सिर्जनशीलता वृद्धि गर्ने बताए।

वडा नम्बर १ का वडाध्यक्ष तिलकप्रसाद न्यौपानेले पुस्तकालयलाई थप समृद्ध बनाउन सबैको सहकार्य आवश्यक रहेको उल्लेख गरे। उनले भने, “विद्यालयमा कुनै पनि कार्यबोझ हटाउन वडा कार्यालय तयार रहेको छ।”

त्यस्तै नगर उपप्रमुख रामदेवी खडकाले युवाहरूको सामाजिक योगदानको प्रशंसा गर्दै पुस्तकालयलाई दीर्घकालसम्म सञ्चालन गर्न सहयोग गर्ने आश्वासन दिइन्। “शिक्षामा गरिएको लगानी कहिल्यै खेर जाँदैन,” उनले भनिन्।

पुस्तकालयले शिक्षाको ज्योति बाल्नुका साथै स्वस्थ र सुपोषित बालबालिकाको विकासमा सहयोग पुग्ने नगर प्रमुख राजुसिंह कठायतले बताए।

“पुस्तकालयहरू ज्ञानको भण्डारण, संरक्षण र वितरणको केन्द्रका रूपमा विश्वभर प्राचीन कालदेखि नै महत्वपूर्ण मानिन्छन्,” उनले भने।

उनका अनुसार मेसोपोटामियाको सुमेर सभ्यतामा माटोको ट्याब्लेटमा लेखिएका क्युनिफर्म लिपिहरू संग्रहित पहिलो पुस्तकालयहरू स्थापना भएको मानिन्छ। त्यसरी सुरु भएको पुस्तकालयको इतिहास आज अत्याधुनिक प्रविधियुक्त बनेर हाम्रो सामु आइपुगेको छ।

पुस्तकालय स्थापनामा विभिन्न व्यक्ति र संस्थाको सहयोग रहेको छ कलाघरका सचिव धनराज सुनारले बताए।

उनका अनुसार शिल्पी थियटर, निमा बुक्स, जय बुक्स हाउस, स्मिता नेपाल, नेत्र प्रसाद दाहाल, एन्जु बज्राचार्य, मनऋषि धिताल, युवराज धिताल, हिमाल भुजेल, रूपेश शाह, सांग्रिला बुक पब्लिकेशन, खडानन्द चौलागाईं, पुरिचन्द्र देवकोटा र डीबी शाहीले नि:शुल्क पुस्तक उपलब्ध गराएर सहयोग गरेका छन्।

त्यस्तै नगर प्रमुख कठायतले बुक र्‍याक र उपप्रमुख खड्काले कार्पेट उपलब्ध गराएका छन्। यस्तै, डिभिजन वन कार्यालयले उद्घाटनका लागि बिरुवा प्रदान गरेको छ।

‘हाम्मो पढ्न्या मैडो’ पुस्तकालय जुम्लाको सानो तर महत्वपूर्ण कदम भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कालो सार्कीले बताए।

उनले भने, “यो पहलले स्थानीय बालबालिका र समुदायलाई शिक्षाको उज्यालो बाटोमा डोर्‍याउने अपेक्षा गरेका छौं।”

पुस्तकालयलाई दीर्घकालसम्म जीवन्त राख्न स्थानीय सरकार, समुदाय, र सहयोगी संस्थाहरूको निरन्तर सहकार्य आवश्यक रहेको उनको भनाइ छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार