११ कक्षामा ट्युसन पढ्दा उनले अन्तर्राष्ट्रिय धावक हरि रोकायाका प्रशिक्षार्थीबाट उनको नाम सुनेकी थिइन्। ती गुरुहरूसँगको भेटले उनको दौड यात्रालाई गति दियो।
जुम्लाको गुठिचौर गाउँपालिका–३ गर्ज्याङ्कोटकी राज्यलक्ष्मी रावलले आफ्नो छुट्टै परिचय बनाएकी छन्। १९ वर्षीया राज्यलक्ष्मी सात जनाको परिवारमा जन्मेकी हुन्।
उनी जुम्ला बहुमुखी क्याम्पसमा बिएड प्रथम वर्षमा अध्ययनरत छिन्। जीवनलाई नयाँ दिशातर्फ लैजानको लागि उनले दौडलाई रोजिन्, जुन अहिले कर्णालीको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय सफलतामा परिणत भइरहेको छ।
अल्ट्रा रनिङको यो यात्रा सुरु गर्दा उनलाई धेरै चुनौतीहरू थिए। जुम्ला जस्तो विकट ठाउँ, शारीरिक कठिनाइ र परिवारको प्रारम्भिक असहमति उनका लागि ठूलो अवरोध बन्यो। तर अठोट र परिश्रमले ती सबै चुनौतीहरूलाई जित्न सफल भइन्।
राज्यलक्ष्मीको दौड यात्रा दुई वर्षअघि मात्रै सुरु भएको हो। सुरुमा दौडिन रुचि नराख्ने उनले आफ्नो यात्रा साधारण खेलकुद गतिविधिहरूबाट सुरु गरिन्। बाल्यकालमा बल खेले पनि दौडलाई विशेष महत्व दिएकी थिइनन्।
११ कक्षामा ट्युसन पढ्दा उनले अन्तर्राष्ट्रिय धावक हरि रोकायाका प्रशिक्षार्थीबाट उनको नाम सुनेकी थिइन्। ती गुरुहरूसँगको भेटले उनको दौड यात्रालाई गति दियो।
रोकायाले उनलाई नागरिकता, तस्बिर र पाँच सय रुपैयाँ लिएर आउन भनेपछि राज्यलक्ष्मीले तालिम सुरु गरिन्। त्यसपछि उनले बिहान र साँझ नियमित अभ्यास गर्न थालिन्।
सुरुवाती समयमा उनले तीन जना साथीहरूसँग तालिम लिन थालिन्, तर क्रमशः सबैले छोडे। उनी एक्लै भए पनि आफ्नो अभ्यासमा अडिग रहिन्। यो लगनशीलताकै कारण राज्यलक्ष्मीको प्रतिभा क्रमशः उजागर हुँदै गयो।
राज्यलक्ष्मीले पहिलोपटक नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णालीको तर्फबाट प्रतिनिधित्व गरिन्। पोखरामा भएको उक्त प्रतियोगितामा कुनै पोजिसन नआए पनि उनले आफ्नो यात्रा रोकिनन्।
सुर्खेतमा भएको १० किलोमिटर दौडमा उनले दोस्रो स्थान हात पारिन्। त्यसपछि उनको गति बढ्यो। रुकुमको ३४ किलोमिटर दौडमा तेस्रो स्थान हासिल गरिन्। खुसीका दायाराहरु फराकिला हुँदै थिए।
काठमाडौंको चर्चित “स्तुपा टु स्तुपा” दौडमा उनी पहिलो भइन्। एसियन क्रसकन्ट्री प्रतियोगितामा राममाया बुढासँग मिलेर टिमलाई तेस्रो स्थानमा पुर्याउन उनले योगदान दिइन्। एक पछि अर्को सफलताले उनलाई उत्साहित बनाउँदै लग्यो।
राज्यलक्ष्मीको मेहनतले उनलाई कर्णाली क्षेत्रको मात्र नभई राष्ट्रिय स्तरको धावकका रूपमा पनि चिनायो। उनले आफूलाई अब्बल बनाउन अझ कसरत गर्दै गइन।
हाल उनको यात्रा नेपालको सीमा नाघेर अन्तर्राष्ट्रिय स्तरमा प्रवेश गरिसकेको छ। भर्खरै भारतको बैंगलोरमा भएको ५० किलोमिटर अल्ट्रा दौडमा उनले पहिलो स्थान हासिल गरिन्। यो जितसँगै उनले आफूलाई अन्तर्राष्ट्रिय दौड प्रतिस्पर्धामा अझ स्थापित गराएकी छन्।
बैंगलोरको सफलताले उनलाई हङकङमा हुने ५० किलोमिटरको दौडका लागि छनोट गराएको छ। यसअघि कोरिया र पोल्यान्डमा हुने प्रतियोगितामा सहभागिता जनाउन नसकेकी उनी अब भने योग्य भइसकेकी छिन्। यसले उनको अन्तर्राष्ट्रिय यात्रा अझ फराकिलो बनाउने सम्भावना देखाएको छ।
विकट भेगमा अभ्यास गर्ने अवस्था सहज थिएन। त्यसमाथि, प्रारम्भमा परिवारको समर्थन पनि कमजोर थियो। खासगरी तालिमका क्रममा दुब्लाएर जाँदा बजुले “दौड छोड” भनेकी थिइन्। तर अहिले भने परिवारको सोच बदलिएको छ।
“अहिले बजु गर्वका साथ भन्छिन्, ‘मेरी नातिनिले गरेकी छ,’” राज्यलक्ष्मीले खुसीसाथ सुनाइन्।
उनले सफलता पाउन शारीरिक र मानसिक दुबै रूपमा बलियो हुनुपर्ने प्रमाणित गरिन्। विकट क्षेत्रका साधन अभाव र सहकार्यको कमीलाई उनले मेहनत र निरन्तरताले जित्न सकिन्।
राज्यलक्ष्मी आफ्नो खेल जीवनलाई अझै अघि बढाउने सोचमा छिन्। “अब सधैँभरी खेल्ने योजना छ। आर्मीमा पनि जाने सोच छ। नभए, यसैमा आफ्नो करियर बनाउने सोचेकी छु,” उनले भनिन्।
उनको लक्ष्य केवल व्यक्तिगत सफलता मात्र होइन, कर्णाली क्षेत्रका अन्य युवाहरूलाई पनि प्रेरित गर्नु हो। उनका अनुसार, “दुर्गम क्षेत्रका युवाले पनि अन्तर्राष्ट्रिय मञ्चमा पहिचान बनाउन सक्छन्।”
राज्यलक्ष्मीको सफलताले नेपालको खेलकुद क्षेत्रमा नयाँ सम्भावना देखाएको छ। स्थानीय स्तरमा सुरु भएको उनको यात्रा अहिले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रभावशाली बन्दै गएको छ।
उनको यो यात्रा केवल व्यक्तिगत कथा मात्रै होइन। यो विकट क्षेत्रका युवाहरूका लागि प्रेरणादायी कथा हो। संघर्ष र मेहनतले सफलता हात पार्न सकिन्छ भन्ने उनको जीवनले देखाएको छ।
उनले भोगेका संघर्ष, प्राप्त गरेका सफलता र अबका सपनाहरू नेपाली खेलकुदमा नयाँ उचाइ ल्याउने दिशामा रहेको छ। कर्णालीकी अल्ट्रा धाविका अब नेपालकै गौरव बनेकी छिन्।