सोमबार, ८ पुष, २०८१

सञ्चारमन्त्री गुरूङद्वारा पत्रकार महासंघ जुम्लाका अध्यक्ष चाैलागाईँलाई बधाई

मन्त्री गुरूङले चाैलागाईँको नेतृत्वलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै भने, “तीन संगठन मिलेर साझा उम्मेदवारी दिएर जित्नुभएको रहेछ। तपाईं र सम्पूर्ण टिमलाई बधाई छ। सफल कार्यकालको शुभकामना छ।”

सूचना, सञ्चार तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष पूर्ण चाैलागाईँलाई बधाई दिएका छन्। मंसिर २८ गते सम्पन्न महासंघको निर्वाचनमा जुम्ला शाखाको अध्यक्षमा निर्वाचित भएका चाैलागाईँलाई आइतबार दिउँसो टेलिफोनमार्फत् बधाई ज्ञापन गरेका हुन्।

मन्त्री गुरूङले चाैलागाईँको नेतृत्वलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै भने, “तीन संगठन मिलेर साझा उम्मेदवारी दिएर जित्नुभएको रहेछ। तपाईं र सम्पूर्ण टिमलाई बधाई छ। सफल कार्यकालको शुभकामना छ।”

यस अवसरमा मन्त्री गुरूङले मोफसल पत्रकारिताका समस्या र चुनौती समाधान आफ्नो प्राथमिकतामा रहेको बताए। साथै, महासंघ जुम्लालाई आवश्यक सहयोग गर्न आफू प्रतिबद्ध रहेको उनले बताएका छन्।

नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष पूर्ण चाैलागाईँले सञ्चारमन्त्री गुरूङले फोनमार्फत् बधाई तथा शुभकामना व्यक्त गरेको पुष्टि गरे। जुम्ला दर्पणसँगको कुराकानीमा उनले भने, “सञ्चारमन्त्री ज्युले फोन गरेर बधाई ज्ञापन गर्नुभयो। सबैलाई मिलाएर लैजान र नमुना काम गर्न सुझाव दिनुभयो। मैले उहाँलाई धन्यवाद व्यक्त गरें।”

अध्यक्ष चाैलागाईँले टेलिफोन वार्ताका क्रममा दुर्गम क्षेत्रमा सञ्चार सेवा विस्तारका लागि चासो दिन आग्रह गरेका थिए। मन्त्री गुरूङले पत्रकारिता जगतले सधैं राज्यलाई खबरदारी गर्नुपर्ने जोड दिएको पनि चाैलागाईँले जानकारी दिए।

महासंघ जुम्लाका नयाँ अध्यक्ष पूर्ण चाैलागाईँले यसअघि नेपाल पत्रकार महासंघका पूर्ण केन्द्रीय सदस्यको जिम्मेवारी सम्हालेका थिए। निर्वाचनमा चाैलागाईँले नेपाल प्रेस सेन्टर, प्रेस चौतारी र प्रेस युनियनका साझा उम्मेदवार नेत्रबहादुर शाहीलाई तीन मतले पराजित गरेका थिए।

निर्वाचनमा कुल ५४ मतदातामध्ये ५३ जना सहभागी भएका थिए। तीमध्ये चाैलागाईँले २८ मत प्राप्त गरे भने पराजित शाहीले २५ मत पाए। चाैलागाईँको विजयले जुम्लामा पत्रकारिताको नयाँ नेतृत्व सुरु भएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार