धर्मराजको जीवन गाथा मात्र संघर्षको कथा होइन, यो एक प्रेरणा हो। गरिबी, अभाव र कठिनाइको चक्रबाट अघि बढेर सन्तोषको किनारमा पुग्न उनले देखाएको साहस, दृढता र इमानदारीता आजका पुस्ताका लागि पथप्रदर्शक बन्न सक्छ।
जुम्लाको गुठिचौर गाउँपालिका-३ का धर्मराज रावल, साधारण किसान परिवारमा जन्मेका एक क्षमतावान व्यक्तित्व हुन्। ३७ वर्षका उनी सरकारी सेवामा छन्।
उनको जागिरे जीवनको तह सानो देखिए पनि त्यहाँसम्मको यात्रा प्रेरणादायी छ। जीवनको अनगिन्ती कठिनाइहरू पार गर्दै उनले हासिल गरेको सफलता धेरैका लागि उदाहरण बन्न सक्छ।
धर्मराजको जीवन असहज परिस्थितिमा प्रारम्भ भएको थियो। उनले २०६० सालमा एसएलसी परीक्षा दिए। २०६१ मा नतिजा आयो। उनी उतिर्ण भए। त्यतिबेला उनी १६ वर्षका थिए।
यो सफलता साधारण लाग्न सक्छ, आमा रुपको र हल्का लागन सक्छ। धेरेका जीवनमा यस्तै त हुन्छ भन्ने पनि लाग्ला। तर यसका पछाडि एउटा परिवारको त्याग र उनको संघर्षको गहिरो कथा छ।
धर्मराजको बाल्यकाल आर्थिक अभावले भरिएको थियो। उनका बुबा बलबहादुर रावल सामान्य किसान थिए। खेतीपातीबाट जेनतेन परिवारको पेट पाल्ने उनका लागि छोराको शिक्षा ठूलो सपना थियो।
उनले खेत बेचेर, सापटी लिएर, ऋण काडेर भएपनि छोराको पढाइलाई निरन्तरता दिए। उनको पढाइको निरन्तरताका लागि भएका सबै खेत बेचेर घरपरिवारले भात खाने चाह त्यागेको थियोे।
“बुबाको इच्छा थियो, छोरो राम्रो पढेर असल मान्छे बनोस्। कमाइ थिएन, तर उहाँले मलाई शिक्षा आर्जन गराउन कुनै कसुर बाँकी राख्नु भएन। सारा खेत बेचेर पढाइ खर्च जुटाएको कुरा कहिल्यै भुल्न सक्दिनँ,” धर्मराज सम्झन्छन्।
पारिवारिक अवस्थाका कारण उनले आजको अवस्थामा पुग्न विगतमा थुप्रै कठिनाइ झेलेका छन्। ब्याउलीका लेकबाट हिउँमा खालीखुट्टै हिँडेर रत्याथाला हुँदै कालिकोटसम्म नुन बोकेर आएको उनलाई अहिले पनि ताजा लाग्छ।
उनका बुबाले आफ्ना सन्तानलाई पढाउन हदैसम्म गरेको त्यागमा उनले पनि केही हातेमालो गरे। बुबाको कष्टकर जीवनलाई सहज बनाउने उनको चाह थियोे। तर उनले एकपल्टको नुन बोकाइले बुबाको दु:ख मेटिने थिएन। जसरी एक माघ जाँदैमा जीवनभरको जाडो सकिँदैन। त्यसैले पढ्नु थियो बेस्मारी। उनले पढाइमा बल लगाए।
गाउँकै विद्यालयमा पढ्दा उनी गणितमा असाध्यै अब्बल थिए। साथीहरूलाई उनले निःशुल्क पढाउँथे। अभावका कारण उच्च शिक्षाका लागि घर छाडेर बाहिर जान सक्ने स्थिति थिएन। त्यसैले उनले एसएलसी पछि जुम्लामै पढ्ने निर्णय गरे।
उनको शिक्षा आर्जनको यात्रा निकै चुनौतीपूर्ण रह्यो। एसएलसीपछि उच्च शिक्षाको लागि आर्थिक अभाव ठूलो समस्या बन्यो। यद्यपि, उनलाई एउटा मीठो भने संयोग जुर्यो। जुन उनी जीवनको अन्तिम क्षणसम्म पनि सम्झिरहनेछन्।
उनको जीवनमा जुम्लाका पहिलो अधिकृत जीवन भण्डारीको आगमन भयो। जीवन सरले उनको प्रतिभा पहिचान गरे र उनलाई ट्यूसन कक्षामा पहिला नि:शुल्क पढ्न र पछि पढाउन सहारा दिए।
जीवन सरको सहयोगले धर्मराजको जीवनमा एउटा ठूलो परिवर्तन ल्यायो। “जीवन सरले मलाई आफ्नो ट्यूसन क्लासमा निःशुल्क पढ्न दिनुभयो। उहाँकै कारण मेरो पढाइ निरन्तर अगाडि बढ्यो,” उनले भने।
उनी जागिरे जीवनको जुन तहमा छन्, त्यो सबैको एकल जस जीवन सरलाई नै दिन चाहन्छन्। उनका अनुसार क्षमता भइकन पनि प्रदर्शन गर्न ठाउँ थिएन। त्यो जीवन सरले नै दिएका थिए।
त्यो अवसरको पनि एक रोचक किस्सा छ। उनी जीवन सरसँग ट्यूसन पढ्थे। ट्युसन पढ्दै गर्दा परीक्षा हुँदा उनले ऐच्छिक गणित र अनिवार्य गणित विषयमा पूर्णाकङ् तोडेपछि जीवन सरको नजरमा परे।
उनको क्षमता र लगावलाई देखेका जीवन सरले उनीबाट ट्युुसन् फिस नलिने निर्णय गरिदिए। पढाइ नि:शुल्क भयो। त्यसपछि अवसरका ढोकाहरु खुले।
क्याम्पसमा पनि गणित विषयमा उनले लगातार उत्कृष्ट नतिजा हासिल गरि नै रहे। जीवन सरले उनलाई थप हौसला दिएर अगाडि बढाए। यसपछि धर्मराजले कहिल्यै पछाडि फर्केर हेर्नुपरेन।
धर्मराजको पढाइसँगै राजनीति जीवन पनि सुरु भयो। उनी एमालेनिकट अनेरास्ववियुमा लागे। तर यो उनको जीवनको सजिलो बाटो थिएन। माओवादी द्वन्द्वको समयमा एमाले भएका कारण गाउँबाट लखेटिनुपर्यो। सेनाले अनेरास्ववियु भनेपछि माओवादी सोचेर दिएको दुःख, यी सबै घटनाहरू उनको जीवनका कष्टदायी पाटाहरू हुन्।
धेरै कठिनाइका बाबजुद उनले सिद्धान्तमा अडिग रहेर अघि बढे। जिल्ला विकास समितिले दिएको जागिरको प्रस्तावलाई उनले अस्वीकार गरे। “त्यसबेला अवसरभन्दा पनि मेरा लागि सिद्धान्त ठूलो कुरा थियो,” उनी भन्छन्।
२०६३ सालमा उनको बिहे भयो। २०६४ सालमा उनले कर्णाली बोर्डिङ स्कुलमा गणित पढाउन थाले। पढाउने कामले उनलाई आर्थिक रूपमा केही राहत दियो। सँगै, उनले २०६५ सालमा गणित विषयमा स्नातक तहको पढाई सुरु गर्ने सके। बोर्डिङको जागिर छोडेर उनी डिलिप नामक परियोजनामा अस्थायी नायव सुब्बसुका रूपमा पनि काम गर्न थाले।
पढाइलाई अघि बढाउन उनले धेरै त्याग गरे। कहिलेकाहीँ चाउचाउ मात्र खाएर रात काट्नुपर्थ्यो। “चाउचाउको भरमा रात काटेका दिनहरूले मेरो स्वास्थ्य बिगारे, तर म पछि हटिनँ,” उनले ती कठिन दिनहरूको स्मरण गरे।
२०६८ सालमा उनले लोकसेवा आयोगको परीक्षा दिए। उनकी श्रीमती विष्णुमाया महत रावलको प्रेरणाका कारण उनले यो निर्णय लिएका थिए। “मलाई श्रीमतीले बारम्बार भनेपछि मैले परीक्षा दिने निर्णय गरेँ। फर्म पनि उनले नै भरिदिएकी थिइन्,” उनी सम्झन्छन्।
पहिलो प्रयासमै उनले लोकसेवाको परीक्षा पास गरे। यसपछि उनको जीवनले स्थिरता पाउन थाल्यो। तर पढाइ र कामको दबाबका कारण स्वास्थ्यमा समस्या देखिन थाल्यो। उनी लामो समय बिरामी भए। नाकबाट ब्लीडिङ हुने र अत्यधिक थकान र तनावका कारण उनलाई थप अध्ययन र काम गर्न गाह्रो भयो।
तर स्वास्थ्य समस्याले पनि उनलाई रोक्न सकेन। उनले आफ्नो जागिरे जीवनलाई नयाँ ऊर्जा दिएर अघि बढाए।
उनका बुबाले आफ्नो जीवनभर छोरालाई शिक्षा दिने धोको पूरा गर्न सके। त्यसैगरी, धर्मराजले आफ्ना भाइहरूको शिक्षामा पनि कहिल्यै कुनै कमी हुन दिएनन्। “बुबाले हामीलाई कहिल्यै अभाव महसुस गर्न दिनुभएन। मैले पनि आफ्ना भाइहरूप्रति त्यही कर्तव्य पूरा गरें,” उनी भन्छन्।
अहिले उनका सबै भाइहरू आ–आफ्नो क्षेत्रमा सफल छन्। उनले आफ्नो परिवारलाई सँधै सन्तोषपूर्ण जीवन दिन सफल भएका छन्।
उनी आफ्नो जीवनमा सफलताको जस केवल एक व्यक्तिलाई मात्रै दिन चाहन्छन्। उनका मार्गदर्शक नै जीवन सर हुन। उनका अनुसार, जीवन सर पछि उनका बुबा र उनकी श्रीमतीले उनलाई यस स्थानमा पुर्याउन मुख्य भूमिका खेले।
“जीवन सरको सहयोगबिना म आज यो स्थानमा हुँदैनथेँ। उहाँले मेरो प्रतिभा देख्नुभयो र मलाई अवसर दिनुभयो। उहाँको ऋण म कहिल्यै तिर्न सक्दिनँ,” उनी गर्वका साथ भन्छन्।
जीवन सरसँगको भेटले उनको जीवनको दिशा बदलिदियो। उनले जीवनमा सधैं ईमानदारी, समर्पण र कर्तव्यनिष्ठालाई पहिलो प्राथमिकता दिए।
उनी अहिले सन्तोषको जीवन जिइरहेका छन्। सादा जीवन जिउँदै, उनी कमजोरलाई सहयोग गर्न सधैं तयार रहन्छन्। उनी भन्छन्, “हामीले भोगेको दुःख अरूले भोग्नुपरोस् भन्ने म चाहन्न। म सधैं सहयोग गर्न तत्पर हुन्छु। यदि कुनै दिन आफ्ना अगाडि अभावमा तड्पिरहेको मान्छे देखेँ र सहयोग गर्न सकिनँ भने ठूलो पछुतो हुन्छ। आत्मग्लानीले पोल्छ।”
उनले अहिलेसम्म कुनै ठूलो सम्पत्ति जोडेका छैनन्। तर उनले सन्तोष, ईमानदारी र सेवा भावनालाई जीवनको प्रमुख मूल्य बनाएका छन्।
धर्मराजको जीवन गाथा मात्र संघर्षको कथा होइन, यो एक प्रेरणा हो। गरिबी, अभाव र कठिनाइको चक्रबाट अघि बढेर सन्तोषको किनारमा पुग्न उनले देखाएको साहस, दृढता र इमानदारीता आजका पुस्ताका लागि पथप्रदर्शक बन्न सक्छ।