नजिकै आएको दशैँ पनि
सायद खिन्न भएको छ
देश डुबानमा परेको देखेर
देशको राजधानी डुबेको देखेर
पहाडका अङ्गहरू पहिरोसँगै
खसेको देखेर !
हर्ष उल्लासको पर्व पनि
दु:खमय भएको छ
यतिबेला पुरै देश रोएको छ
तर शासक खित्ता छाडेर हाँसिरहेछ!
लज्जास्पद! रुपमा
बाढीको आक्रान्तले
पहिरोको आक्रान्तले
जनता तर्सिएका छन्
जनता मारिएका छन्
अलपत्र छन्, केही मानिस
बागमतीको भेलमा
सुनकोसी, त्रिशुलीको भेलमा
खहरे खोलाहरूले हेर्दाहेर्दै बगाएका छन्
मानिसहरू
हेर्दाहेर्दै पहिरोमै पुरिएका छन्
केही थान अभागी मान्छेहरू !
बाढीको भेलमा घण्टौं फसेर बसेका
मानिसहरूको निम्ति उद्दार गर्न पुगेन सरकार
यो सरकार हत्यारा हो!
किन मुलुक चलाउने शासकहरूले,
नाङ्गो नाच देखाइरहेका छन्?
सडकहरू भासिएका छन्
बस्ने बास बगेको छ
जन-जनको आस मरेको छ
ओ! मेरो सरकार के हेरेर बसेको ?
कैयौंका कैयन सपनाहरू विलीन भए
रहरहरू नमिठो रुपमा अस्ताए, सेलाए
जले, फुटे, टुटे खै के के भए, खरानी भए
हजारौं सपना बाँड्छ शासक
समृद्ध बनाउँछ मुलुक आश्वासनमै
जनताको निर्दोष अस्तित्वमाथि
निकै ठूलो भ्रमको खेती गर्छ
र जनतालाई प्रयोग गर्छ
भ्रम खेतीको सिँचाइ र मल बनाउँछ
म सोचिरहेछु
यो देश कहिलेसम्म रोगी बनिरहन्छ?
यो देशलाई कहिले सञ्चो हुन्छ?
लाग्छ यो देशलाई सञ्चो नहुने बिमार लागेको छ
को सपूत आउला, यो देशको लागि मलम बनेर?
यहाँ केवल, नालायक कपूतहरूको जमात छ!
मलाई खुब हेर्ने रहर छ, यो देशको
कर्णाली भन्दा लामो विकास भएको
गण्डकी जत्तिकै गहिरो र दिगो विकास भएको
कोसी जत्तिकै ठूला सपनाहरू साकार भएको
गौतम बुद्ध जत्तिकै देश शान्ति भएको
सगरमाथा जत्तिकै जनताको उचाई बढेको
देशले जहिल्यै मनाइरह्यो
शोकको उत्सव
देशले जहिल्यै गुमाइरह्यो
देशकै जग, खम्बा, काँध, साहस, आस, भरोसाहरू
देशले देश बन्न पाएको छैन
यो देशले कहिले मनाउला?
हर्ष र उल्लासको पर्व
साँच्चिकै,
यो देश कहिले उत्सव मनाउँछ?