दशौं पटक विज्ञापन गर्दा पनि डाक्टर आउँदैनन्। परिणाम आजका दिनसम्म पालिकामा डाक्टर उपलब्ध छैनन्। संसारभर चिकित्सा विज्ञानमा तिव्र परिवर्तन र उच्चस्तरीय सेवा प्रवाह भइरहेको अवस्थामा कर्णाली डाक्टर विहिनताको विलौना गरिरहेको छ। यद्यपि जुम्ला सदरमुकाममा डाक्टरको अभाव छैन।
पोखराका डाक्टर प्रदिश पौडेल ३० वर्षका भए। उनी हाल अमेरिकाको हावर्ड विश्वविद्यालयको ‘हावर्ड मेडिकल स्कुल’को ‘ग्लोबल हेल्थ डेलिभरी’मा स्नातकोत्तर तहको अध्ययन गरिरहेका छन्। उनी हावर्ड मेडिकल स्कुलको पहिलो नेपाली विद्यार्थी हुन। अर्थात् उनले हावर्डको इतिहासमै हावर्ड मेडिकल स्कुलको पहिलो नेपाली विद्यार्थी भएर आफ्नो नाम दर्ज गराउन सफल भएका छन्।
यस बाहेक उनी हावर्ड ग्लोबल हेल्थ इनिस्टिच्यूडमा एड्भाइजरको रुपमा कार्यरत छन्। यो कामका निम्ति उनलाई हावर्डले नै अफर गरेको थियोे। उनले स्नातक पढ्ने विद्यार्थीलाई रिसर्चमा मेन्टरसीप गर्ने काम गरिरहेका छन्। सँगै उनीहरुलाई ग्लोवल पाट्नर्ससँग इन्टनसीप गराइदिने काम पनि उनले नै गरिरहेका छन्।
उनले एमबीबीएस तहको पढाइ भरतपुर चितवनमा सकाएका थिए। छोटो उमेरमा हावर्ड पुगेका उनले नेपालमा ‘नेपाल हेल्थ क्रप्स’ नामको गैरसरकारी संस्था पनि चलाइरहेका छन्। उक्त संस्था मार्फत उनले नेपालका ग्रामिण भेगको स्वास्थ्य स्तर उकास्न थुप्रै सामाजिक काम गरेका छन्।
उनको गैरसरकारी संस्था ‘लिडिङ मेट्रोकल योङ हेल्थ कियर प्रफेसर’ उपनामले पनि चिनिन्छ। यसको बलियो संजाल छ। यसमा एमबीबीएस डाक्टर, नर्स, पारामेडिक्स, जनस्वास्थ्यका विद्यार्थीहरु कार्यरत छन्। जसले विशुद्ध स्वास्थ्य क्षेत्रमा सामाजिक जागरण ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ।
उनी एमबीबीएस पढ्दै गर्दा पनि स्वास्थ्य प्रणालीबारे बढी फोकस थिए। एउटा डाक्टरले केही जनालाई उपचार गर्नु भन्दा समग्र नेपालको स्वास्थ्य प्रणालीमै सुधार ल्याउन सके राम्रो हुन्थ्यो भन्ने मनस्थितिले उनलाई घोच्दै लग्यो।
‘नेपालको स्वास्थ्य प्रणाली अव्यवस्थित र अवैज्ञानिक छ। यसको सुधारका लागि कोही न कोहिले कहीँ न कहिँबाट सुरु गर्नुपर्छ भन्ने लाग्यो,’ डा. प्रदिशले भने, ‘यस्तो अवस्थामा आफै तयार हुनु नै कामको सुरुवात हुनु हो भन्ने लागेर नै काम सुरु गरेको हुँ।’
अर्थात् स्वामी विवेकानन्दले ‘संसार बदल्नुछ सुरु आफैबाट गर्नुछ’ भनेझैं उनी आफैले सुरुवात गर्नु उत्तम ठाने। सोही अनुसार गतिविधि गर्दै जाँदा एउटा ठूलो संजाल निर्माण हुन सकेको हो। यसलाई अझ अगाडि बढाउने उनको योजना छ।
हाल अमेरिकामा रहेका उनले त्यहाँ बिरामी चेक जाँच गर्न पाउने गरि लाइसेन्स पनि लिएका छन्। तर काम भने गरेका छैनन्। त्यो भन्दा उनलाई विश्व स्वास्थ्य कार्यक्रम गरौं भन्ने लाग्छ। किनभने हावर्डको ग्लोबल हेल्थ कार्यक्रम साह्रै प्रभावकारी छ। त्यहाँ साधनस्रोतको उपलब्धता समेत राम्रो छ। राम्रो स्रतसाधनले उत्तम परिणाम हासिल गर्न सकिने उनको बुझाई छ।
हालसम्म हावर्डको डिपार्टमेन्ट अफ ग्लोबल हेल्थ इन सोसल मेडिसिनबाट नेपालमा कुनै पनि ठोस साझेदारी भएको छैन। जबकी उनी त्यही विभागका पहिलो विद्यार्थी हुन। उनलाई यो लामो समयको ग्यापले पिरोलिरहेको थियोे।
उनलाई लाग्छ हावर्डको निम्ति नेपाल प्राथमिकतामा छैन। त्यसैले नेपालसँगको साझेदारीका लागि उनले वकालत सुरु गरेका छन्। जो परिणाम दिने दिशातिर उन्मुख छ।
यसैका निम्ति उनले हावर्डको प्रेसिडेन्टलाई इमेल लेखे। नेपालका विद्यार्थीलाई अनुकुल हुने गरि र नेपालसँगको साझेदारी अगाडि बढाउन भनेर उनले इमेल मार्फत अनुरोध गरे। उनले आफ्नो विभागभित्र पनि उही खालको वकालत गरिरहेका थिए। यही वकालतकै दौरानमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलसँग उनको भेट भएको थियोे।
उपकुलपति रावल एउटा लिडरसीप कार्यक्रमका लागि हावर्ड पुगेका थिए। रावल हावर्ड आउने कुराले उत्साहित भएका प्रदिशले उनलाई भेटेपछि तत्काल केही गरिहालौं भन्ने बनायो। उनले त्यसलाई अवसरको रुपमा लिए।
साधनस्रोतको उपलब्धताको हिसाबले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान भन्दा बढी के के नै गरेका छौं भने पनि साधनस्रोतको अभावका बीचमा अरुभन्दा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले धेरै गरेको उनको बुझाई छ।
उनले भने, ‘अरु प्रतिष्ठान र विश्वविद्यालयहरुले विश्वमा लोकप्रियता पाइरहेका भएता पनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले त्यो खालको उचाइ लिन सकिरहेको छैन। मलाई यो संस्था अझ माथि जानुपर्छ भन्ने लागेको हो।’
उनको नजारमा अफ्रिका लगायत देशहरुका संस्थाहरु भन्दा कम साधनस्रोतमा बढी काम गरेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले हार्वड लगायत संस्थाको एक्सपोजर पाउन सकेको छैन। यसको कसरी प्रचारप्रसार गर्न सकिन्छ भनेर उनी सोचिरहेका छन्।
यो लगाव अहिलेको मात्रै होइन्। उनी एमबीबीएस पढ्दै गर्दा कर्णालीमा स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना भएको थियोे। नेपालको निकै दुर्गम ठाउँमा सरकारले मेडिकल कलेज स्थापना गर्नु र त्यो ठाउँमा स्वास्थ्य सेवा प्रवाह गर्नु साह्रै प्रभावकारी काम हो भन्ने उनलाई लागेको थियोे। त्यसैले पनि प्रतिष्ठानका उपकुलपति हावर्ड पुग्दा उनी उत्साहित भएका थिए।
हावर्डले ग्लोबल हेल्थ शृङ्खला सुरु गरेको वर्षौं भयो। त्यहाँ संसारभरका निकै नाम चलेका वक्ताहरुले बोल्ने गरेका छन्। त्यस्तो ठाउँमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिले अवसर पाउनु प्रतिष्ठान र कर्णालीका लागि सुखद सुरुवात हुन सक्ने उनले ठानेका थिए।
त्यसैले नै उनले यो शृङ्खलामा डा. मंगल रावलको उपस्थितिलाई निकै महत्त्वका साथ हेरेका थिए। नभन्दै उपकुलपति रावलले उक्त कार्यक्रममा सोचेको भन्दा राम्रो प्रस्तुति दिए। जसले हार्वडबाट विश्वको ध्यान कर्णालीमा खिच्न सफल भयो।
कार्यक्रम पछि उपकुलपति रावल र प्रदिशको भेट भयो। निकै सौहर्द वातावरणमा छलफल गरेका उनीहरुले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णालीको स्वास्थ्य प्रणालीबारे गहन छलफल गरे। प्रतिष्ठान केन्द्रित छलफलबाट हावर्डसँग दिगो सहकार्यको योजना बन्यो।
यो वातावरणका अर्को महत्त्वपूर्ण व्यक्ति हुन, हावर्डको मास जनरल हस्पिटलका सहप्राध्यापक डा. श्रीधर पौडेल। केही समय अघि उनको सक्रियतामा मास जनरल हस्पिटल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको संयुक्त आयोजनामा जुम्लामा अन्तर्राष्ट्रिय सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन भएको थियोे।
सबैतिरको छलफलपछि काम गर्ने जिम्मा प्रदिशलाई लगाइयो। सक्रिय प्रदिश कर्णाली र हार्वर्ड दुबैतिरको काम गर्न लागे।
त्यसपछि प्रदिशलाई हावर्डले नजिकबाट हेर्न थाल्यो। उनले प्रतिष्ठानको लागि थप वकालत गर्ने वातावरण बन्यो। यही मौका छोपेर उनले हावर्ड र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकार्यलाई बलियो बनाउन खोजेका हुन।
यही दौरानमा उनी जुम्ला पुगेका थिए। जुम्लामा रहेका सातवटै गाउँपालिकाको स्वास्थ्य अवस्थाको अध्ययन गर्ने, अनुसन्धान गर्ने उनको मुख्य ध्येय थियो। उनले जुम्लामा प्राथमिक सेवा सबैले पाउनुपर्छ भन्ने आफ्नो मतलाई जबर्जस्त स्थापित गराए।
‘हरेक वडामा स्वास्थ्य चौकी छन्। अधिकांश वडामा बर्थिङ सेन्टर छन्। जिल्लामा विश्वविद्यालय स्तरको संस्था प्रतिष्ठान छ,’ उनले भने, ‘तर पनि सेवा प्रभावकारी हुन सकेको छैन। यसका कारणहरु केलाउने मेरो अनुसन्धानको विषय हो।’
अनुसन्धान गर्दैगर्दै उनले उपकुलपति रावलले निरन्तर भनिरहेको एउटा भनाइ सम्झे, स्वास्थ्य प्रणालीलाई पुन:संरचना गरेर प्रतिष्ठानलाई ‘सेन्टर फर रुलर हेल्थ इक्वीटी’ बनाउनु पर्छ भनेको। उनले जिल्लाका सातैवटा गाउँपालिकासँग मिलेर कसरी हुन्छ उनीहरुको स्वास्थ्य प्रणाली मजुबुद बनाउने बारे सोचे।
मजबुत स्वास्थ्य प्रणालीका लागि जिल्लाका हरेक पालिकामा कम्तीमा एकजना एमबीबीएस डाक्टर हुनुपर्छ। तर विकट क्षेत्र र केन्द्र सरकारको नजरबाट दुर्गममा रहेका ठाउँमा एमबीबीएस डाक्टरको उपलब्धता नै सबैभन्दा चुनौतीपूर्ण र कठिन विषय बनेको छ।
दशौं पटक विज्ञापन गर्दा पनि डाक्टर आउँदैनन्। परिणाम आजका दिनसम्म पालिकामा डाक्टर उपलब्ध छैनन्। संसारभर चिकित्सा विज्ञानमा तिव्र परिवर्तन र उच्चस्तरीय सेवा प्रवाह भइरहेको अवस्थामा कर्णाली डाक्टर विहिनताको विलौना गरिरहेको छ। यद्यपि जुम्ला सदरमुकामका डाक्टरको अभाव छैन। तर सुरुमै बिरामी हेरेर समस्या के हुन र कुन विशेषज्ञलाई बिरामी देखाउने वा टेलिमेडिसिनको माध्यमबाट गाउँमै उपचार गर्ने वा रिफर गरेर समयमै उपचारको वातावरण मिलाइदिने डाक्टर गाउँमा छैनन्।
त्यसैले विकट क्षेत्रको स्वास्थ्य प्रणाली सुधारको आवश्यकता खड्किएको डा. प्रदिशले बताए। उनले भने, ‘यो समस्या सधैका लागि हल गर्नका निम्ति उपकुलपतिसँगको निरन्तर छलफलले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र हावर्डको सहकार्यमा फेलोसीप कार्यक्रम सुरु गर्ने योजना बनाएका हौं। यसका निम्ति अन्तिम तयारी भइसकेको छ।’
उनका अनुसार यो फेलोसीप अन्तर्गत सुरुमा जुम्लाका सातवटा गाउँपालिकामा एकएक जना एमबीबीएस डाक्टर पठाइनेछ। उनीहरु नौ महिना त्यहाँ काम गर्नेछन्। तीन महिना हावर्ड लगायत विभिन्न विश्वविद्यालय, विश्व स्वास्थ्य प्रणाली, विश्व स्वास्थ्य सम्बन्धि जल्दाबल्दा एजेन्डाबारे सिक्नेछन् र एक वर्षको अवधिमा सर्टिफाई हुनेछन्। यसरी सर्टिफाई हुने डाक्टरहरु हावर्ड लगायत विश्वभरका विश्वविद्यालयमा एक्पोजर पाउनेछन्। यो एक अनन्तकालसम्म चलिरहने आकर्षक शृङ्खला हुनेछ भने विकटमा डाक्टर कहिल्यै खाली हुने छैनन्।
यसका निम्ति पाठ्यक्रम निर्माणको काम टुङ्गिएको छ। हावर्ड लगायत विश्वविद्यालयसँग प्रस्ताव र केही विश्वविद्यालयसँग प्रारम्भिक सम्झौता पनि गरिसकिएको छ। अब चाँडै नतिजा आउनेछ। प्रदिशले भने, ‘हामीले यो प्रस्ताव लिएर प्रत्येक गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य शाखाका प्रमुखहरुसम्म पुग्यौं। चरणबद्ध रुपमा छलफल चलायौं। यसमा उहाँहरु अत्यन्तै सकारात्मक हुनुहुन्छ। यसैकारण फेलोसीप कार्यक्रम सफल हुनेमा म पूर्ण रुपमा विश्वस्त छु।’