सबै तस्बिरहरू लेखकले खिचेका हुन
स्वास्थानी व्रत कथामा उल्लेख भए अनुसार महादेवले सतीको मृत शरीर बोकेर यत्रतत्र घुम्ने क्रममा यस ठाउँमा आइपुग्दा सतीदेवीको शिर पतन भएकोले यस ठाउँलाई शिरस्थान (श्रीस्थान) भनेर पूजा गर्न थालिएको हो भन्ने भनाइ रहेको छ।
सुर्खेतमा गत जेठ महिनाको अन्तिमतिर राष्ट्रिय युवा परिषद् र कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले ‘नमुना युवा प्रदेश सभाको अभ्यास’ नामको कार्यक्रम सञ्चालन गरेको थियो। त्यसैको लागि म जुम्लाको प्रतिनिधित्व गर्दै नमुना युवा संसद भएर सुर्खेत पुगेको थिएँ। उक्त कार्यक्रममा कर्णाली प्रदेशका दश ओटै जिल्लाबाट युवा साथीहरूको सहभागीता थियो। चार दिनसम्म चलेको नमुना युवा संसद अभ्यास कार्यक्रम निकै रोचक र भव्य रुपमा सम्पन्न भयो।
विभिन्न जिल्लाका युवा साथीहरूसँग कार्यक्रम अवधि भर छुट्टै प्रकारको सम्बन्ध स्थापित भएको भयो। कार्यक्रमको अवधि छोटो थियो। तैपनि धेरै कुरा सिक्न अवसर मिल्यो। उक्त कार्यक्रम अवसरहरुबाट वञ्चित भएका हामी जस्ता युवाहरुको निमित्त फलदायी रह्यो।
सोही कार्यक्रमको लागि जाजरकोटबाट आएका एक युवा थिए। जसको नाम सन्तोष नेपाली ‘मान्ठ’ हो। उनी आफूलाई मान्ठ भन्न रुचाउँछन्। किन भने उनीमा कर्णालीप्रति अघाध प्रेम छ। जुन कुरा उनले बोल्ने भाषा र कर्णालीको वर्णन गराइमा देखिन्छ। जोसँग मेरो पहिल्यै सामाजिक सञ्जालमा हल्का चिनजान थियो। तर भेट भएको थिएन। यो भन्दा पहिला सायद एक दुई चोटि मात्र हाम्रो कुरा भएको थियो।
नमूनाका युवा संसद अभ्यास कार्यक्रमले हाम्रो भेट सोचेभन्दा छिटो गरायो। अथवा संयोगले हाम्रो भेट चाँडै भयो। कार्यक्रम अवधिभर हामीसँगै भएर कार्यक्रमका विभिन्न अभ्यास गर्यौं। चार दिने कार्यक्रम विभिन्न प्रकारका अभ्यास गर्दागर्दैमा सकियो।
कार्यक्रम सकिएपछि केही दिनसँगै बिताउने योजना बनाएर हामी कार्यक्रम स्थलबाट निस्कियौं। हिँडेर हामी मंगलगडी चोक नजिक पुग्दा साथमा अन्य साथीहरू पनि थिए। दिनको तीनचार बजेको थियो। हामी होटल भित्र छिर् यौं र नास्ता खाएर सबै आआफ्नो वास स्थानतिर लागे।
तर म र सन्तोष नेपाली अथवा मान्ठ मंगलगडी चोकतिरै केहीबेर घुमफिर गऱ्यौं। उनी अध्ययनको सिलसिलामा विरेन्द्रनगरमै बस्ने भएकाले हाम्रो पूर्व योजना अनुसार म उनको कोठामा गए। हामी कोठा पुग्दा अवेर भैसकेको थियो। त्यो बेलुकाको खाना पनि हाम्रोले होटेलमै भयो। भोलि पख दैलेखको गुराँसे घुम्न जाने योजना बनाएर सुतियो।
बिहान हुनासाथ दैलेखको गुराँसे जाने कुराले म आतुर थिएँ। मलाई कोठाबाट छिटो निस्कन पाए हुन्थ्यो भन्ने लागिरहेको थियो। मैले खाना खाएर छिटो जानुपर्छ भने। मान्ठ जीले “हुन्छ भन्नुभयो।” रमाइलो स्थानको घुमाइमा साथी जति सक्यो धेरै भएको राम्रो भन्ने लागरे अरु दुई जना साथीलाई पनि बोलाउने कुरा भयो। मान्ठ जीसँगै अध्ययन गर्ने दुईजना केटी साथीलाई बोलायौं । ती दुबैजना मेरै ठाउँ वा जुम्ला तिरकी थिइन्। एकजनासँग मेरो राम्रै चिनजान थियो। अर्की सँग थिएन। तर माण्ठ जीको दुवैसँग चिनजान राम्रै थियो। बिहानको खाना पश्चात हामी सुर्खेत बसपार्कमा पुग्यौं। बसपार्कमा पुग्ने बित्तिकै हामी माइक्रोबसमा गुराँसे तिर हानियौं।
गुराँसे पुगेर घुम्ने रहरले मनमा निकै हर्ष र उल्लास छाएको थियो। माइक्रोको सिटअन्य यात्रुले भरिभराउ भइसकेका थिए। हामी भने उभिएरै गयौं। बाटो राम्रो भएर होला खासै अप्ठ्यारो लागेन। सायद नयाँ ठाउँमा पुग्ने रहरले ज्यादाँ भएर पनि अप्ठ्यारोको महसुस नभएको होला। बेलाबेला मलाई सोधिरहनु हुन्छ माइक्रोबसको ढोका नजिक उभिनु भएका मान्ठ जी “सलिन जी गाह्रो त भएन” म भन्छु “छैन ठिकै , बरु हजुर राम्रोसँग बस्नुस्।” हाम्रा केटी साथीलाई केही गाह्रो भएको थियो। तर म भने भन्दैछु “केही हुँदैन कहिलेकाही यस्तै हुन्छ के गर्नु?”
माइक्रोबसको उकुसमुकुसपूर्ण यात्रा पश्चात् करिब डेढ दुई घण्टामा दैलेखको गुराँसे पुग्यौं। एक होटेलमा पसेर नास्ता खाएपछि थोरै माथि हिडेर गयौं। गुराँसेको पार्कभित्र छिर्न तत्पर भएका मात्र के थियौं, त्यतिबेलै टिकट काउन्टरबाट आवाज आयो, “टिकट काटेर मात्रै भित्र जानुस् है।” टिकटको लागि हामी टिकट काउन्टर तिरै लाग्यौं। टिकट काउन्टरमा बस्नुभएको दिदीसँग एकछिनको कुराकानी पश्चात प्रतिव्यक्ति रू ५० का दरले ४वटा टिकट काटेर हामी पनि भित्र छिर् यौं।
पार्कको प्रवेश द्वारका सिढी चढ्दै गरेका फोटोहरु लियौं। वरिपरिका मनमोहक दृश्यहरुले मन लोभ्यारहेका थिए। निकै सुन्दर र रमणीय ठाउँ, वरिपरिका बस्तीहरु, फुलेर झरिसकेका लालिगुराँस रुखहरु, सबैतिर हरियाली। कोहीकोही फूलहरु झन बाँकी थिएँ। तिनै दृश्यले झनै मोहित बनायो। मलाई लाग्यो यो प्रकृतिसँग प्रेम गर्नुको मज्जा पनि बेग्लै छ। त्यो ठाउँको नाम गुराँसे रहनुको कारण पनि त्यहाँ बाटो भएर यात्रा गरिरहेका जोकोहीलाई टक्क रोकिएर नजर डुलाउने सामर्थ्य राख्ने बडेमानका लालीगुराँसका रुखहरु नै थिए। गुराँसेको चारै तिर लालीगुराँसका रुखहरु घना रूपमा फैलिएका जङ्गल छ।
गुराँसेको पार्क भित्र एउटा कृत्रिम लालीगुराँसको बोट बनाइएको छ। जसमा उच्चतम सिप र कलाको प्रयोग भएको देखिन्छ। विभिन्न आकृतिका कलात्मक दृश्यहरु र सोही स्थानमा बनेको भ्यु टावर। जहाँबाट क्षितिजसम्मका सुन्दर दृश्यहरूमा नजर डुलाउँदा अनि डाँडाकाँडासँग ठोक्किँदै आइपुगेको शीतल हावाले चुम्बन गर्दा लठ्ठै बनायो। जुन कुरा स्मृतिमा लामो समय सम्म रहिरहोस् भन्ने मनसायका साथ प्रकृतिले दिएका अनुपम उपहार रूपी दृश्यहरु मोबाइल भित्र कैद गयौं। केही बेर बसेर गफगाफ गर्दै रमायौं। समय आफ्नै गतिमा बितिरहेको थियो। मन त गुराँसेमै बसेर रमाउने थियो। तर समयले नेटो काट्यो। हामीले फर्किने निधो गर्यौं।
गुराँसेको पार्कबाट तल सडकमा झरेपछि हाम्रो घुम्ने योजनामा दैलेख श्रीस्थान पनि पऱ्यो। यहाँसम्म आइसकेपछि त्यहाँ जानपर्छ। फेरि यस्तो मौका आउला नआउला भन्ने लाग्यो। सोही योजना अनुसार हामी जसरी पनि जाने नै भयौं। केटीसाथी हाम्रो योजना सहभागी हुन नसक्ने भएपछि उनीहरुलाई विरेन्द्रनगर जाने बसमा पठायौं। म र मान्ठ जी केही बेर बसेपछि सुर्खेतबाट माइक्रोबस आयो। दैलेखको सदरमुकाम दैलेख बजारसम्मको लागि हामीले माइक्रोबस चढ्यौं। साँझको समय थियो। बाटोमा देखिने सकिने दृश्यहरु हेर्दै गयौं।
करिब तीनचार घण्टाको यात्रा पछि दैलेख जिल्लाको सदरमुकाम दैलेख बजारमा पुग्यौं। मेरो स्वास्थ्य अवस्था अलि खराब भैसकेको थियो। माइक्रोबस दैलेख बजारको बीच बजारमा अवस्थित महाकवि लक्ष्मीप्रसाद देवकोटाको सालिक अर्थात् देवकोटा चोक नजिकै रोक्यो र हामी ओर्लियौं। ओर्लने बित्तिकै मैले बान्ता गरेँ। टाउको पनि खुब दुखिरहेको थियो। जसोतसो मैले आफूलाई समाल्ने कोसिस गरेँ। दैलेख बजारमा निकै चहलपहल थियो। हामी होटेल खोज्न लाग्यौं। एकजना अधबैंसे मानिस हामी उभिरहेको ठाउँ आए। हामीले सोध्यौं “यहाँ बास बस्ने होटेल कता तिर छन्?” उहाँले भन्नुभयो “होटेल त थुप्रै छन्। जहाँ बसे पनि भयो।” उहाँले आफ्नै होटेल पनि भएको कुरा बताएपछि हामी दैलेख बजारको बस स्टप नजिकै रहेको उहाँकै होटेलमा गयौं।
कोठासम्म पुर्याएर “यतै बस्नुस् ढुक्कसँग” भन्नुभयो, हामीले पनि “हुन्छ भन्यौं।” केहीबेरमा तल खाना खान ओर्लियौं। होटेलको भान्सा तल्लो तलामा नै रहेछ।
खाना खाने बेला हामीले कुरा उठायौं। यहाँबाट श्रीस्थान जान समय कति जति लाग्छ। होटेलका अंकल अन्टीले धेरै टाढा छैन्। त्यहीँ डेढघण्टाको बाटो हो तपाईंहरु भोलि बिहानै उठेर गए पछि खाना खाने समयसम्म घुमेर यहाँ आइपुग्नु हुन्छ। त्यसै गर्ने भनेर सुतेका हामी तर बिहान छिटो उठ्न भने सकेनौं। बिहान खाना खाइसके पछि हामी होटेलबाट निस्कियौं। हिजो माइक्रोबसबाट ओर्लिएको देवकोटा चोक हुँदै दैलेख जिल्ला अदालत अगाडि र नारायण नगरपालिकाको गेट अगाडि फोटो खिच्यौं। अलि माथि एक ठूलो वरको रुखमुनी बसेर भिडियो बनायौं। फोटो खिच्यौं। गणतान्त्रिक चोक हुँदै नारायण मन्दिर पुग्यौं। अलि अगाडि ऐतिहासिक कोतगढी रहेछ। त्यसको भित्र गएर अवलोकन गर्यौं। निकै पुराना ऐतिहासिक पुरातत्त्व देख्न पायौं। केही समयको अवलोकन पश्चात त्यहाँबाट हामी श्रीस्थानतर्फ लाग्यौं।
बाटोमा भेटिने मान्छेसँग श्रीस्थानसम्म जाने बाटो भनि दिन अनुरोध गऱ्यौं। उहाँहरुले नम्रतापूर्वक हामीलाई सहयोग गर्नुभयो। उहाँहरुले भने बमोजिम हामी अघि बढ्यौं। अघि बढ्दै जाँदा बाटो जुन मान्छे भेटिए पनि हामीले सोधिरह्यौं। अब कति लाग्छ श्रीस्थान जान। धेरै छैन नजिकै छ तपाईंहरु त अझ छिटो पुग्नुहुन्छ यस्तै भन्नुभयो एउटा पसलको अन्टिले। हामी निर्धक्क भएर हिड्यौं। दैलेख बजारबाट श्रीस्थान जान ओरालो झर्नु पर्थ्यो। हामी झर्यौं। वरिपरिका दृश्यहरु नियाल्दै दैलेखको प्राकृतिक सुन्दरताको वर्णन गर्दै हिडिरह्यौं। बाटोका आसपासआँपहरु प्रशस्तै फलेका थिएँ तर पाकेका भने थिएनन्। तैपनि हामीले ढुङ्गाले हानेर झार्यौं। तर खान सकिएन। किनकि आँप काँचै थिए। हामीले कुराकानी गर्यौं गाउँघरको आँप पाकेपछि यत्तिकै खेर जान्छन्। सरकारले स्वदेशमा उत्पादन भएका फलफूलको बजारीकरण गर्न सकिरहेको छैन। नेपालीले भने इन्डियाबाट भित्रिने विषादीयुक्त फलफूल किनेर खान्छौं। तर अर्गानिक फलफूल यसरी खेर गइरहेको छ। यी र यस्तै विषयवस्तुको छलफल गर्दै बाटोमा भेटिने मानिससँग बाटो सोध्दै हिँड्यौं।
बाटोको मध्य भागमा हामीले अर्को पुरातात्त्विक बस्तु भेटायौं, ऐतिहासिक पञ्चदेवल। जहाँ ढुङ्गाबाट अनौठो शैलीमा निर्माण भएका देवलहरु खडा थिए। पाँचवटा देवल भएको कारणले यसको नाम पञ्चदेवल भएको राखिएको छ। जसलाई नारायण नगरपालिका -१ ले संरक्षण गर्ने प्रयास भने गरेको छ। तर नजिकैबाट बाटो खनिएको हुँदा पछि भत्किने सम्भावना भने निकै छ। दश पन्ध्र मिनेट त्यही पञ्चदेवल भएको ठाउँमा बस्यौं। फोटोहरु खिच्यौं। भिडियो बनायौं। अझै तल झर्नुपर्ने , हिँड्दै गयौं। अन्तमा एकजना हजुरआमा तलबाट माथि आउँदै हुनुहुन्थ्यो। गर्मी बढेको थियो। पसिना बगाउँदै हाम्रो सामु आइपुग्नुभयो। हामीले सोध्यौं, “अब कति समय लाग्छ आमाश्रीस्थान जान, “हजुरआमाले औंलाले इसारा गर्दै ऊ, त्यहीँबाट तल झरेर पुल तरेपछि त्यो खोलाको अलि भित्र छिरेपछि भेटिन्छ। अब त नजिकै छ,” भन्नुभयो। एकछिन त्यहीँ विश्राम पछि हजुरआमा माथितिर हामी तलतिर लाग्यौं। आठदश मिनेटपछि हामी त्यो ठाउँ पुग्यौं। तल सानो खोला थियो।
त्यो ठाउँ मलाई निकै रहस्यमय लाग्यो। त्यहाँको सुगन्ध पनि अर्कै अर्कै लाग्न थाल्यो। त्यहाँ नजिकै आर्यघाट पनि थियो। जहाँ एक लास चितामा जलिरहेको थियो। हामी भने वारीपट्टी दुईचार घरहरु र केही पसल भएको ठाउँ नजिकै चौतारामा बसेर जलिरहेको चितालाई नियाल्यौं। हामी त्यतैपट्टी जानुपर्ने थियो। एउटा पक्की पुल थियो। त्यहीँबाट पारीपट्टि गयौं। दुई साना खोलाको संगम नजिकैबाट हिडेर गयौं। खोलाका ढुङ्गामा टेक्दै टेक्दै। पानी कम नै थियो। त्यहीँ खोलामा हामीले अनौठो दृश्य देख्यौं। जुन पानीमा आगो बलेको। मान्ठ जीलाई मैले अनौठो तरिकाले, “हेर्नुस् त त्यहाँ के हो त्यस्तो,” भनेपछि मान्ठ जीले, “यो त सुन बलेको जस्तो छ,” भन्नुभयो। त्यो त ज्वाला (ग्यास) बलेको रहेछ। कस्तो अचम्म! पानीमा कसरी बल्छ होला? सोच्यौं। हामीले राम्रोसँग नियाल्यौं। नजिकै एउटा ढुङ्गाको चट्टानबाट तामा जस्तो पग्लिरहेको देख्यौं। हामीले भन्यौं यहाँ भित्र तामाखानी त पक्कै छ।
मान्ठ जि ले खोलामा भएको पानीमा हात राखेर भन्नुभयो, “हामी स्वर्गको अनुभुती गर्न जान्छौं हामी भान्छौं स्वर्ग कहाँ पाइन्छ? तर वास्तविक स्वर्ग कर्णालीमा पाइन्छ,त्यसैले कर्णालीमा आउनुस्।” उहाँले भनेका ती बहुमूल्य शब्द मैले मोबाइलमा भिडियो बनाएर कैद गरेँ। जो मसँग अझै सुरक्षित छ। मान्ठ जीको भिडियो बनाए सँगै हामी मुख्य पंचकोशी ज्वाला क्षेत्र श्रीस्थान मन्दिरतिर लाग्यौं। हामीले पुजारीसँग भेटेर अनुरोध पनि गर्यौं यहाँको बारेमा केही भनिदिन। तर पुजारीले खासै केही नबोल्ने मोडमा देखेपछि हामीले थाहाँ पाएका कुरा एक अर्कोलाई सुनायौं। त्यसपछि हामीले मुख्य ज्वाला बल्ने मन्दिर भित्र प्रवेश गर्यौं। मन्दिरको उत्तर तिरको कुना नजिक ज्वाला बलिरहेको थियो। मन्दिर धुम्म परेको थियो। बाहिर भन्दा ज्वाला बलिरहेको मन्दिर भित्र गर्मी अत्याधिक थियो। तर हामी बस्यौं। मन्दिरभित्रको वरिपरि मोबाइलको टर्चलाइट बालेर हेर्यौं। हामीलाई अनौठो लागिरहेको थियो। अनौठोसँगै हामीलाई आफू भित्र डर पनि लागिरहेको थियो तर एकाअर्कालाई भन्न भने सकिरहेका थिएनौं।
त्यत्तिकैमा पुजारी आए। ज्वाला (आगोको राँगो) तह (रोटी पकाउने फलामको भाँडो) जस्तैले ढाकेको थियो। त्यहाँको कालो मुसो हाम्रो नाकको डाडीमा लगाइदिए पुजारीले र बाहिर निस्किए। तर हामी केहीवेर भित्रै बस्यौं। फोटो र भिडियोहरु खिच्यौं। वास्तवमा श्रीस्थान पाँचथान पंचकोशी अन्तर्गत पर्ने एक स्थान हो। श्रीस्थानमा मन्दिर भित्र आगोको ज्वाला निरन्तर रूपमा बलिरहेको छ। वैज्ञानिकहरूले यहाँ पेट्रोल र ग्यासको खानी भएको प्रमाणित गरेका छन्। यद्यपी धार्मिक मान्यता अनुसार यो ज्वाला दैवीक शक्तीद्वारा देखिएको हो भन्ने भनाइ रहेको छ। स्वास्थानी व्रत कथामा उल्लेख भए अनुसार महादेवले सतीको मृत शरीर बोकेर यत्रतत्र घुम्ने क्रममा यस ठाउँमा आइपुग्दा सतीदेवीको शिर पतन भएकोले यस ठाउँलाई शिरस्थान (श्रीस्थान) भनेर पूजा गर्न थालिएको हो भन्ने भनाइ रहेको छ। नाभी खोला अथवा रुद्रावती नदीको किनारामा अवस्थित यस स्थानमा ज्वालाघर, गाधीघर, काल भैरव मन्दिर, वटुक भैरव मन्दिर शिवलिंग रहेको छन्। ज्वालाघर भित्र निरन्तर रूपमा बलिरहने आगोको ज्वालालाई शिव ज्वाला अथवा वैश्वानर ज्वाला भनेर पूजा गरिन्छ। गाधीघरको माथिल्लो पट्टी काल भैरव मन्दिर रहेकोछ। काल भैरव मन्दिरमा सधैँ सेतो पर्दा लगाइएको हुन्छ। काल भैरव मन्दिरमा पूजा गर्ने पूजारी बाहेक अरुलाई प्रवेश निषेध छ। काल भैरवमा बालब्रह्मचारीलाई मात्र पूजारी भएर पूजा गर्न पाउने प्रचलन छ।
उक्त ज्वाला बलिरहेको मन्दिर भित्र हाम्रा आँखाहरु मधुरो भएको महसुस भयो। हुनसक्छ हाम्रो मनस्थिति खलबलियो। त्यहाँ भित्रको अर्कै चाल प्रक्रियाले गर्दा जे होस् हामीले त्यतिबेला निर्धक्क भएर त्यहाँको बारेमा बोल्यौं। भिडियो बनायौं। मलाई लाग्यो यति ठूलो सम्भावना हुँदाहुँदै पनि आखिर अहिलेसम्म किन ग्यास भण्डारको उत्खनन हुन सकिरहेको छैन? स्रोतको सहि रुपमा सदुपयोग गर्न सकियो भने मात्रै पनि कर्णाली आफैंमा निर्भर हुन सक्छ। तर कहिले हामी निर्भर हुन्छौं? अझै अर्को कुरा , यहाँसम्म पुग्नलाई सडक मात्र राम्रो बनेको भए पनि कैयौं स्वदेशी र विदेशी पर्यटन भित्रिने थिए होलान्। यहाँको आर्थिक स्थिति कति मजबुत हुन्थ्यो होला। मनमनै सोचे केही कुराहरु मान्ठ जीसँग पनि भए। कर्णाली यस्ता सम्भावना हुँदाहुँदै पनि घुमनाम छ। यो देखेर हामी असन्तुष्ट भयौं।
समय छिपिदै थियो। करिब साँझको पाँच बजेसम्म हामीले श्रीस्थानमै बितायौं। अगाडि आएको पक्की पुल नजिकै सानो नास्ता पसलमा हामीले चाउचाउ र माछा खायौं। अब कहाँ जाने यो बेला? यतै बस्ने कि दैलेख बजार जाने। हामीले ठोस निर्णय भने गर्न सकेनौं। तर नास्ता पसलको दिदीको अनुसार अहिले नाभिस्थान जानुस्। मन्दिरमै बस्ने व्यवस्था छ। राम्रोसँग घुमेर भोलि जाँदा हुन्छ। अहिले बजार जानुभन्दा त भन्नुभयो। हामीले के गर्ने के नगर्ने केही सोच्न सकेनौं। अन्ततः हामी दैलेख बजारमै फर्कने भोली जसरी नि सुर्खेत जानू छ भनेर हामी त्यहाँबाट हिँड्यौं। अब बाटो उकालो थियो। डर पनि लागिरहेको थियो। रात परिसकेलो थियो। झिसमिसे साँझमा हामी उकालोमा फटाफट हिँड्यौं। दिनमा त्यहीँ बाटोमा कति मज्जासँग हिँडिएर आइएको थियो। तर अहिले जानेबेला छिटोछिटो सास बढिरहेको छ। बाटो जङ्गलको अनि त्यसैमा सुनसान छ। त्यो बाटोमा रात परेपछि प्रायः नहिँड्ने रहेछन्। हामीले बाटोमा कसैलाई फेला पारेनौं।
केही माथि बस्ती थियो। त्यहाँ पुगेपछि अलि डर कम भयो। तर फेरि पनि कतै जंगल त कतै थोरै घरहरु थिए। हिँड्दै गयौं। रोड थियो रोडबाट जाँदा अलि ढिला हुने थियो। रात परिसकेको थियो। हामी बिहान आएको छोटो बाटो बिर्सेर जंगलको बीचमा गएछौं। हामीलाई निकै डर लागिरहेको थियो। जंगल झरेका पात पतिङ्गरमा टेकेको बेला आउने आवाजबाट झन डर लाग्न थालेको थियो। मोबाइलको टर्च बालेर हिँड्यौं बाटो भेटिएन। फेरि तल झर्यौं र बल्लतल्ल बिहान आएको बाटो पत्ता लगायौं। एकछिन त्यहीँ बसेर लामो सास फेर्यौं दुबैजनाले। अब छिटो जानुपर्छ भन्दै हामी हिँड्यौं। अब हिँड्नु पर्ने थोरै थियो। केही समयमै दैलेख बजार पुग्यौं। झिलिमिली थियो दैलेख बजार। हामीले फेरि होटेल खोज्यौं। एउटा होटेल भेट पछि त्यहीँ बास बस्यौं।
भोलिपल्ट हामी खाना खाइसकेपछि सुर्खेत जाने माइक्रोबसमा बस्यौं। मान्ठ जीले भन्दै हुनुहुन्थ्यो, “सलिन जी हजुरसँग अविस्मरणीय पलहरु बिताउन पाइयो धेरै खुसी छु।” मैले पनि भने “मान्ठ जी तपाईंसँग यति छोटो समयमै यसरी नजिक भएर हाम्रो मित्रता यसरी मजबुत बन्छ भन्ने सोचेको थिएनँ। तर तपाईंसँग अब मसँग थुप्रै कुराहरू छन् थुप्रै सम्झनाहरु छ जो सधैं मस्तिष्कमा रहिरहनेछन्।” यस्तै यस्तै के के कुराहरू भए हाम्रो गाडीभित्र नै।
मैले सोचेको दैलेख र मैले देखेको दैलेखमा धेरै भिन्नता पाएँ। मैले सोचेको दैलेख विकट थियो। मैले देखेको दैलेख समृद्धको सम्भावना छ। जब ज्वाला बलेको देखेँ मैले कर्णालीको सम्भावना प्रचुर मात्रामा देखेँ।
बलिरहने ज्वाला छ कर्णालीको।
बलियो शक्तिशाली इतिहास छ कर्णालीको।
रारा छ कर्णालीको फोक्सण्डो छ कर्णालीको।
जडिबुटी छ कर्णालीको जल छ कर्णालीको।
सम्भावनाका यावत् खानीहरु छन् कर्णालीको।