यहाँका मानिसको सङ्घर्षको यात्राको कुनै मापन छैन। यहाँका मानिसको कुनै कथा लेखिएको छैन, न त यहाँको कुनै व्यथाको वर्णन नै गरिएको छ। खोप्रीवासीका आफ्नै व्यथा छन्, आफ्नै कथा छन्।
भनिन्छ, जीवन जिउन जाने त्यसै सुन्दर, त्यसै खुसी, त्यसै खास हुन्छ। तर मानिसको जीवन शब्दमा वर्णन गरिएजस्तो सहज र सरल छैन। मानिस आफ्नो जिन्दगी चलाउनका निम्ति अनेक कष्ट गर्छ, अनेक सङ्घर्षसँग जुधिरहन्छ।
जिन्दगीको दौरानमा मानिसले कैयौँ ठक्कर र नमिठो हार खान्छ। अनि सुन्छु, सङ्घर्ष नै जीवन हो। सङ्घर्षबिनाको वास्तविक जिन्दगीको परिकल्पना गर्न सकिँदैन भन्ने पनि सुन्छु, जुन मलाई सान्दर्भिक लाग्छ।
जुम्लाको तिला गाउँपालिका–९ मा पर्ने एक गाउँ हो, माथिल्लो खोप्री। यहाँका मानिसले जीवनको गोरेटोमा अनेक किसिमका पलहरू भोगिरहेका छन्। जीवनका अनेक रसहरूसँग घुलमिल भएका छन्। अनि अनेक दुख, कष्टसँग निरन्तर युद्ध लडिरहेका छन्।
यहाँका मानिसको सङ्घर्षको यात्राको कुनै मापन छैन। यहाँका मानिसको कुनै कथा लेखिएको छैन, न त यहाँको कुनै व्यथाको वर्णन नै गरिएको छ। खोप्रीवासीका आफ्नै व्यथा छन्, आफ्नै कथा छन्।
यी परिस्थितिका अनेक सूचकलाई न कसैले जाँच्न सक्यो, न त प्रयास नै गरियो। बरु भनियो, खोप्री विकट बस्ती हो, कति कठिन, कति दुखलाग्दो ठाउँ?
खोप्रीलाई विकट देख्ने नजरले किन देखेन होला यहाँको प्राकृतिक सुन्दरता? यहाँको अनेक सम्भावना? सायद भन्ने हो भने, हेर्ने दृष्टिमै खोट छ हाम्रो।
जब म खोप्रीको शिरबाट खोप्रीतर्फ पाइला ओराल्न थालेँ, तब पाइलासँगै यो हृदय हरायो यहाँको प्राकृतिक सौन्दर्यमा। एक नजरमा कैद गरेँ यहाँको अनेक सुन्दरता र सँगै अनेक कठिनाइ पनि।
यहाँको कठिनाइ सम्झँदा र नियाल्दा उराठ लाग्छ, उजाड लाग्छ। अनि लाग्छ, कसरी भयानक सङ्घर्षको कारागारमा कैद भए होलान् खोप्रीवासी?ओहो!
अनेक प्रश्नले मन चस्काइरहन्छ एकातर्फ। अर्कोतर्फ, खोप्रीवासीको माझमा दुख मात्रै छैन, कष्ट मात्रै छैन, उजाड मात्रै छैन। खोप्रीवासीसँग त बहुमूल्य उपहार छ, प्रकृतिले दिएको अद्भुत सौन्दर्य, जो सम्पत्ति जोसँग हुँदैन।
माथिल्लो खोप्री र तल्लो खोप्री गरेर दुई गाउँमा विभाजित यो बस्ती हालसम्म सडकको पहुँचमा पुग्न सकेको छैन। बाहिरी दुनियाँभन्दा अलि कठिन परिस्थितिमा रहेका यी बस्तीमा खोप्रीवासीले भिन्नै किसिमको पीडा भोग्नुपरेको बाध्यता अझै जीवित छ।
खोप्रीले हरेक दिन सपना देख्छ। हरेक समय कल्पना गर्छ। अझ भनौँ, खोप्रीले अवसर पर्खिरहेको छ। जब खोप्रीले अवसर पाउनेछ, तब खोप्री लम्किनेछ, चम्किनेछ ताराहरूझैँ।
खोप्रीले पलपल भोगिरहेको छ आफ्नो छातीमा उब्जाएको अन्नबाली पिठ्युँमा बोकेर ओरालीका बस्तीहरूमा पुर्याउँदा पसिनाले शरीर भिजाउँदाको पल।
खोप्रीले भोगिरहेको छ पसिनाको उचित मूल्य नपाउँदाको पल, कर्मको अपमानको पल, भौगोलिक रूपमा गरिने विभेदको पल, जुन हालसम्म पनि जारी छ।
खोप्रीसँग एक सम्भावनाको आयाम छ, जसले खोप्रीको मात्र होइन, समग्र तिला गाउँपालिकाको मुहार फेर्न सक्छ। खोप्रीसँग नदै गुफा छ, जो अद्भुत छ।
चट्टानै चट्टानको खोजमा रहस्यमय र प्राकृतिक रूपमा बनेको नदै गुफा यहाँको मुहार फेर्ने अर्को आधार हो। धार्मिक मान्यताअनुसार यो गुफा अद्भुत छ।
खोप्रीवासीका अनुसार, यो गुफामा बसेका नदै देवी–देवताको रहस्यले गर्दा यो गाउँमा कुखुरा पाल्न मिल्दैन, घरहरूमा कुनै पनि जनावरको हत्या गर्न मिल्दैन।
अझ भनौँ, घरमा मासु खानका निम्ति कसैको पनि घरमा कुनै जीवलाई मारेर खान मिल्दैन। बरु गाउँबाट केही पर गएर काटेर ल्याएपछि घरमा पकाएर खान मिल्छ। गाउँमा अनिष्ट हुन्छ भन्ने मान्यता छ। तसर्थ, यो क्रियाकलापमा यो गाउँलाई बन्देज छ, नदै देवी–देवताबाट।
यहाँका मानिस वर्षौँदेखि यही नियममा बाँधिएका छन्।नदै गुफाको पर्यटन प्रवर्द्धनको सवालमा सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम असार १५ मा राखिएको थियो।
उक्त कार्यक्रममा नदै गुफाको पर्यटन प्रवर्द्धनका लागि व्यापक बहस भएको थियो। पालिका स्तरीय बहसमा नदै गुफालाई कसरी पर्यटन भित्राउने र व्यवस्थित गर्ने भन्ने सवालमा तिला गाउँपालिका–९ ले कार्यक्रम आयोजना गरेको थियो। वडा नम्बर ९ ले नदै गुफासम्म पुग्नका लागि पदमार्ग निर्माण गरेको छ।
यहाँका वडाध्यक्षले आगामी वर्षमा माथिल्लो खोप्री र तल्लो खोप्रीलाई सडक सञ्जालमा जोड्ने प्रयास गर्ने प्रतिबद्धता जनाए। त्यस्तै, पालिका अध्यक्षले नदै गुफाको पर्यटन प्रवर्द्धनका लागि ठूलो बजेट ल्याइएको बताए।
यहाँका स्थानीय प्रवीण थापाले नदै गुफाको संरक्षणका लागि स्थानीयको सहभागिता हुनुपर्ने, धार्मिक–सांस्कृतिक कार्यक्रमहरूमा व्यापक सहभागिता हुनुपर्ने सुझाव दिए।
उनले प्रदेश र सङ्घले आवश्यक बजेटको व्यवस्था गर्नुपर्नेमा जोड दिए। अर्का स्थानीय देबिलाल बोहराले वर्षेनी नदै गुफामा पर्यटकीय मेला गरेर पर्यटन प्रवर्द्धन गर्नुपर्ने बताए।
खोप्रीवासीले उक्त कार्यक्रममा विकासका हिसाबले पछाडि पारिएको बारे प्रश्न उठाए। यो प्रश्न मात्र होइन, यो त खोप्रीवासीको चेतनाको स्तर माथि उठ्दैछ भन्ने सकारात्मक सङ्केत हो।
यसले खोप्रीको विकासका लागि ठूलो टेवा पुग्नेछ। राज्यका तीन संयन्त्रमध्ये नजिकको स्थानीय तहलाई घचघचाउनेछ। दबाब सिर्जना स्वरूप स्थानीय निकायको नजर पुग्नेछ, र पुगिरहेको पनि छ।
हुन त, विकास एक रातमै कायापलट हुने कुरा होइन। खोप्री जति विकास हुनुपर्ने थियो वा आवश्यक थियो, त्यो नभएको अवस्था भने हो। देश सङ्घीय गणतान्त्रिक संरचनामा गएपछि थुप्रै उपलब्धिहरू भइरहेका छन्।
यो संरचनाले आम जनताको चेतनाको स्तर मात्र होइन, आत्मनिर्भर हुन पनि सिकाइरहेको छ। तर खोप्रीमा यो संरचनाले समेत विभेद गरेको हो कि भन्ने पनि लाग्छ।
प्रकृतिको घुम्टोमा सजिएको खोप्री, जससँग नदै गुफा छ, जसले एक सम्भावनाको विशाल हीरा बोकेको छ। खोप्री एक अवसरको पर्खाइमा बसेको छ। जुन पर्खाइको माझमा पुगेपछि खोप्रीमा विस्फोट हुनेछ। जुन विस्फोटले खोप्रीलाई विकास दिनेछ, समृद्धि दिनेछ, र खोप्रीवासीमाझ उल्लास छाउनेछ।