शिविरले नाम्खा गाउँपालिका लगायत आसपासका बासिन्दाहरूको स्वास्थ्य सुधारमा योगदान दिने उपाध्यक्ष लामाको विश्वास छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले हुम्ला जिल्लाको दुर्गम क्षेत्र नाम्खामा आयोजना गर्ने दुईदिने स्वास्थ्य शिविरको सम्पूर्ण तयारी पूरा भएको छ।
शिविर कार्तिक २० र २१ गते नाम्खा गाउँपालिकासँगको साझेदारीमा याल्बाङमा बस्न लागेको हो।
शिविरमा सबै रोगको विशेषज्ञ चिकित्सकहरूबाट चेकजाँच र उपचारको व्यवस्था गरिएको छ।
प्रतिष्ठानले शिबिरको सबै तयारी पूरा गरेको स्वास्थ्यकर्मी राज बहादुर खत्रीले जानकारी दिए।
उनले भने, “यो शिविरले स्थानीय बासिन्दाहरूलाई स्वास्थ्य सेवा उपलब्ध गराउन महत्त्वपूर्ण भूमिका खेल्नेछ।”
विकट क्षेत्रको रूपमा परिचित याल्बाङ क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा पाउन कठिन भएको बेला विशेषज्ञ चिकित्सकबाट उपचार हुनु सुखद कुरा भएको गाउँपालिकाका उपाध्यक्ष तकदिर लामाले बताए।
शिविरप्रति निकै सकारात्मक देखिएका उनले भने, “विशेषज्ञ सेवा यहाँ उपलब्ध हुने हुँदा स्थानीय बासिन्दा निकै खुसी भएका छन्। स्वास्थ्य सेवाको पहुँचले यहाँको जनजीवनमा ठूलो सकारात्मक प्रभाव पार्नेछ।”
शिविरले नाम्खा गाउँपालिका लगायत आसपासका बासिन्दाहरूको स्वास्थ्य सुधारमा योगदान दिने उपाध्यक्ष लामाको विश्वास छ।















