देशमा सुशासन मर्दै गएकाले भदौ २३ र २४ गतेको आन्दोलन भएको उल्लेख गर्दै उनले सुशासन कायम आफ्नो पहिलो प्राथमिकता भएको बताए । हरेक क्षेत्रमा सुशासन कायम गर्न आफूले महत्वपूर्ण भूमिका खेल्ने उनको जिकिर छ ।
संघीय राजधानीबाट केही घण्टाको दुरीमा पर्छ, काभ्रेपलाञ्चोक । काठमाडौं उपत्यकासँग जोडिन्छ काभ्रेपलाञ्चोकको सीमाना । तर, काठमाडौं र काभ्रेको विकासमा आकाशपातालको फरक छ । काठमाडौं हरेक क्षेत्रमा अगाडि हुँदा काभ्रे निकै पछाडि छ । जबकि, काठमाडौंमा जस्तै त्यहाँ पनि काम गर्नका लागि जनप्रतिनिधि थिए । सदनमा आवाज उठाउन सांसद थिए । तर, तिनले आफ्नो दायित्व निर्वाह नगर्दा काभ्रेपलाञ्चोक विकासमा धेरै पछाडि परेको छ । त्यति मात्र होइन, शिक्षा, स्वास्थ्य, रोजगारीलगायत मौलिक हकबाट पनि उनीहरु वञ्चित छन् । पर्यटनको अधिक सम्भावना भएको काभ्रेपलाञ्चोकको पर्यटकीय स्थलहरुको प्रचार गर्न सकिएको छैन ।
यस क्षेत्रमा नहुने केही छैन, नभएको भनेको एउटा जिम्मेवार र जनताप्रति उत्तरदायी सांसदको हो।देशमा आठपटक संसदीय निर्वाचन भयो । जनताले मतदान गरेर आफ्नो जनप्रतिनिधि चुनेर पठाए । तर, उनीहरु जनतामुखीभन्दा पनि व्यक्तिमुखी र ल पार्टीमुखी हुँदा काभ्रेपलाञ्चोकले फड्को मार्न सकेन।
राजनीतिक दलका उम्मेदवारले काम नगरेपछि भुम्लु गाउँपालिका–२, सिम्थलीका उमेश थापा आफैं चुनावी मैदानमा होमिएका छन् । पार्टीबाट निर्वाचित सांसद्हरुले आशालाई सँधै निराशामा बदलिदिएपछि उनले काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवार बनेका हुन् । ठेकी चुनाव चिन्हका उनी भन्छन्,‘नेताहरुले भोट माग्दा यो गर्छौं–त्यो गर्छौं भन्नुहुन्छ । जितेर गएपछि फर्किएर पनि आउनुहुन्न, काम गर्नु त परको कुरा । जनताको जिन्दगी आशैआशमा बितिसक्यो ।
अरुको आश गरेर निराश बन्नुभन्दा आफैंले काम गरेर देखाउनुपर्छ भनेर उम्मेदवारी दिएको हुँ ।’ थापा पेशाले पत्रकार हुन् । लामो समयदेखि पत्रकारिता पेशामा संलग्न उनी ३० वर्षको भए । समाजमा भएको बेतिथि, उच्च पदस्थबाट भएको पदीय दुरुपयोग, जनताले पाएको दुःखको विषयमा उनले निरन्तर आफ्नो कलम चलाइरहें । जनतालाई सुसूचित बनाइराखे । तर, सरकारमा भएकाहरुको नसुन्ने र नसुध्रिने प्रवृत्तिले उनमा आफैंले त्यो ठाउँमा पुगेर सुधार गर्नुपर्छ भन्ने भावना जाग्यो ।
त्यसले पनि उनलाई उम्मेदवारी दिन प्रोत्साहन गर्यो । ‘मैले देश सिस्टममा चल्नुपर्छ, जनताको अधिकार खोसिनुहुन्न भनेर लामो समय कलम चलाए।सरकारलाई घच्घचाए । तर, सरकारमा बस्नेहरु सुध्रिन चाहन्नन् । आफैं त्यो ठाउँमा पुगेर बिग्रेका कुराहरु सपार्नुपर्छ, थिति बसाल्नुपर्छ भन्ने लाग्यो । त्यसैले उम्मेदवारी दिए’,उनले भने । सादा जीवनशैली जिउने थापा पढेलेखेका युवा हुन् । स्नातकोत्तर गर्दै गरेका उनमा देश र जनताका लागि काम गर्ने हुटहुटी छ । उनमा नयाँ सोच छ, देश बनाउने संकल्प छ । काम गर्ने ऊर्जा बोकेर हिँडेका उनी देश निर्माणको प्रमुख आधार सुशासन र इमान्दार नेतृत्व भएको बताउँछन् ।
देशमा सुशासन मर्दै गएकाले भदौ २३ र २४ गतेको आन्दोलन भएको उल्लेख गर्दै उनले सुशासन कायम आफ्नो पहिलो प्राथमिकता भएको बताए । हरेक क्षेत्रमा सुशासन कायम गर्न आफूले महत्वपूर्ण भूमिका खेल्ने उनको जिकिर छ । अर्कोतिर, नेतृत्वहरुमा इमान्दारिता हराउँदै गएकोमा उनी चिन्तित छन् । वाचा गर्ने र पुरा नगर्ने प्रवृत्तिले जनतामा अविश्वास बढेको उनी बताउँछन् । आफूले वाचा नभई काम गर्ने उनको प्रतिबद्धता छ। जनताको सुःख–दुःखमा आफू सँधै साथमा हुने उनले सुनाए । ‘म बोल्नभन्दा पनि काम गर्नमा विश्वास राख्छु । जनतालाई म के ग्यारेण्टी गर्छु भने उहाँहरुको सुःखदुःखमा म सँधै साथमै रहनेछु । जनताले मतदान गरेर पनि जनप्रतिनिधि भएको महसुश गर्न पाउनुभएको छैन । मबाट कदापी त्यस्तो हुनेछैन’,उनले भने ।
अरु उम्मेदवारले मतदातासँग भोट मागिरहँदा थापा उनीहरुको समस्या र गुनासा सुन्नमा केन्द्रित छन् । घरदैलोमा पुगेर उनले मतदाताको समस्या टिपोट गरिरहेका छन् । मतदाताले उनलाई सुझाव पनि दिइरहेका छन् । त्यसले आफूलाई थप जिम्मेवारीबोध र उत्तरदायी बनाएको थापाको जिकिर छ । मतदाताबाट प्राप्त समस्याको समाधान र सुझावको कार्यान्वयनमा आफू कहिल्यै पछि नहट्ने उनले बताए । भने,‘मतदाताबाट समस्यासँगै सुझाव पनि प्राप्त भइरहेको छ । उहाँहरुले पुराना जनप्रतिनिधिजस्तो नबन्नु भन्नुभएको छ । उहाँहरुको सुझावलाई आत्मसाथ गर्दै मैले काम गर्नेछु।समस्या समाधानका लागि निरन्तर पहल जारी नै रहनेछ ।’आफूलाई मतदान गरेर जिताउनु जनता आफैं जित्नु भएको थापाको भनाइ छ ।
उनका अनुसार जनताको कुरा सुनिदिने, त्यसको समाधानमा लाग्ने, जस्तोसुकै परिस्थितिमा साथ दिने उम्मेदवारलाई भोट दिनु जनताको जित हुनु हो । यो निर्वाचन उम्मेदवार नभई जनता जित्ने निर्वाचन भएको बताउँदै उनले भने,‘यो निर्वाचन उम्मेदवार होइन, जनता जित्ने निर्वाचन हो । राम्रो प्रतिनिधि पाउनु भनेको जनता आफैं जित्नु हो । जनताले राम्रो उम्मेदवार छान्नुहुन्छ भन्नेमा म विश्वस्त छु ।’
विगतमा पत्रकारितामार्फत आफूले देश र जनताकै निम्ति काम गरेको र भविष्यमा पनि त्यसैलाई निरन्तरता दिने थापाको जिकिर छ । आफूबाट जनतालाई कहिल्यै धोका नहुने उनले प्रतिबद्धता जनाएका छन् । दीर्घकालीन विकास निर्माणमा थापाले जोड दिएका छन् । स्थानीय उत्पादनको बजारीकरण गर्न पहल गर्ने उनको प्रतिबद्धता छ ।
उनले काभ्रेपलाञ्चोकलाई पर्यटकीय क्षेत्र बनाउने बताएका छन् । पुराना संांसदहरुले ‘माल पाएर पनि चाल नपाएका‘ उल्लेख गर्दैै उनले त्यो गल्ती आफूले नदोहोर्याउने बताए । पर्यटनलाई आम्दानीको प्रमुख स्रोत बनाउन भूमिका खेल्ने उनको जिकिर छ । स्थानीय स्तरमा औद्योगिकीकरण पनि उनको प्रमुख एजेण्डा हो ।
वैदेशिक रोजगारीलाई बाध्यता नभई विकल्प बनाउने उनले बताएका छन् । काभ्रेमै रोजगारी, राम्रो शिक्षा र स्वास्थ्यको प्रबन्ध मिलाउन आफू हरदम प्रयास गरिरहने उनको भनाइ छ । गाउँमै बस्ने वातावरण मिलाउने प्रतिबद्धता पनि उनले जनाएका छन् । आठपटक मतदान गरेर पनि जनताले महसुश गर्न नपाएको परिवर्तन अब गर्न पाउने उनको प्रतिज्ञा छ ।
चुनाव जितेपछि जनप्रतिनिधि हराउने परिपाटीको आफूले अन्त्य गर्ने पनि उनले बताएका छन् । चुनाव जितेपछि महिनैपिच्छे कामको सार्वजनिक सुनुवाई गर्ने उनको योजना छ । जनतालाई आफूबाट भए–गरेका कामहरुबारे उनले जानकारी गराउनेछन् । ‘चुनाव जितेपछि जनप्रतिनिधि हराउने प्रवृत्तिको म अन्त्य गर्नेछु ।
जनताको घरदैलोमा पुगेर उहाँहरुको समस्या सुन्ने कामलाई निरन्तरता दिनेछु । जनताले कहिल्यै जनप्रतिनिधिविहिन महसुश गर्नुपर्ने छैन’,उनले भने ।
आफू सँधै पारदर्शी रहने, सरकारबाट प्राप्त तलब–भत्ता स्थानीय विकासमा खर्चिने, जिल्लामै बस्ने, जनताको समस्या पहिचान गर्ने, समाधान लाग्ने उनी बताउँछन् ।
मतदाताले आफूलाई विश्वास गरेर दिएको मतदान खेर नफाल्ने ग्यारेण्टी उनले दिएका छन् । ‘मलाई मतदान गर्ने मतदाताले कस्तोलाई छानेछौं भनेर कहिल्यै थकथकी मान्नुपर्ने छैन । मतदाताले दिएको मतदानको सम्मान गर्दै मैले काम गर्नेछु । जवाफदेहिता, पारदर्शिता, उत्तरदायित्व मतदाताले ममा सँधै पाउनुहुनेछ’,उनले भने । सदनमा उठाएको कुरा सरकारले सुनुवाई नगरेमा जनता लिएर सडकमा उत्रिने उनको भनाइ छ ।
















